
काठमाडौं । नेपाल राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवको उपलक्षमा काेराेनाभाइरस राेकथाम तथा नियन्त्रण गर्न सरकारले देशभर लगाएकाे लकडाउनले थलिएकाे अर्थतन्त्र बचाउन थप नीतिगत व्यवस्था गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण नेपाल लकडाउनमा रहेको एक महिना बितिसकेको छ ।
यसै अवधिमा पर्न गएको नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव र विश्वव्यापी महामारीको रूपमा फैलएको नोवेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट उत्पन्न असहज परिस्थितिलाई सम्बोधन गर्न थप नीतिगत ब्यवस्था गरेको हो ।
कोभिड–१९ को प्रकोपका कारण अर्थतन्त्रमा सिर्जना भएको प्रतिकूलतालाई सम्बोधन गर्दै अर्थतन्त्रलाई विस्तार र स्थायित्वको मार्गमा अगाडि वढाउन नेपाल राष्ट्र बैंकले समसामयिक रूपमा नीतिगत पहलकदमी लिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।
कोभिड–१९ प्रकोपका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न गभर्नर महा प्रसाद अधिकारीले वार्षिकोत्सवको उपलक्ष्यमा दिएको मन्तव्यमा उल्लेख भएका थप नीतिगत व्यवस्थाहरु निम्न छन् ।
(क) चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
(ख) कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइनेछ ।
(ग) साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशोधन गरिनेछ । साथै, रु.६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत मिलाइनेछ ।
(घ) बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिनेछ ।
(ङ) कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।
(च) लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइनेछ ।
मन्तव्यमा चालू आवकाे समिक्षा गर्दै आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा चालू खाता घाटा रु.१२४ अर्ब ९३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.१९१ अर्ब ४९ करोड रहेको थियो ।
त्यसैगरी, शोधनान्तर स्थिति रु.३७ अर्ब ८४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.५८ अर्ब ९९ करोडले घाटामा रहेको थियो ।
मन्तव्यकाे पूर्णपाठ
प्रतिक्रिया दिनुहोस