
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद अपहरण सम्बन्धी मुद्दा दर्ता गर्न आनाकानी गरेको छ । पूर्वप्रधानमन्त्री डा. बाबृुराम भट्टराईले यादवको अपहरणसम्बन्धि कसुरमा संलग्न विरुद्धको जाहेरी लिन प्रहरीले नमानेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवन रक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’
उजुरी दिन पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, हिसिला यमि तथा सांसद सुरेन्द्र यादव परिसर पुगेका छन्। हालै एकीकरण भएका राजपा र समाजवादीका नेताहरु टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघ परिसरमा आन्तरिक छलफल गरी परिसर पुगेका छन्।
वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई पूर्व आईजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठले जबर्जस्ती काठमाडौं ल्याएको आरोपमा समाजवादी पार्टीले लगाउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस