aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

अमेरिकाले प्रयोग गर्यो चीन बिरुद्ध नयाँ अस्त्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ बैशाख २०७७
अमेरिकाले प्रयोग गर्यो चीन बिरुद्ध नयाँ अस्त्र

कोरोना महामारीले विश्वलाई लपेट्नु अघि देखि नै चीन बिरुद्ध आर्थिक युद्द छेडेको अमेरिकाले  कोरोना पछी चीन आर्थिक रुपमा अझ बलियो बन्ने भएपछी चीनलाई हराउन नयाँ अस्त्र प्रयोग गर्न थालेको छ । पछिल्ला दिनहरूमा अमेरिका र युरोप आक्रमकरुपमा चीन विरुद्ध मिडिया प्रपोगाण्डमा उत्रिएका हुन् । कोरोना भाइरसको महामारी विश्वव्यापी हुनुमा चीन दोषी छ भन्ने सन्देश प्रवाह गर्न उनीहरूले मिडियालाई 'प्रोपोगान्डा विपन'  का रुपमा प्रयोग गरेका हुन् । 

चीनलाई यो महामारीबाट भएको विश्वव्यापी आर्थिक नोक्सानीको क्षतिपूर्ति गर्न लगाउने उद्देश्य सहित उनीहरू एकोहोरो र तथ्यहीन आरोपमा उत्रिएका हुन् भन्ने कुरा स्पष्ट भएको छ । त्यति मात्र होइन साउथ चाइना सागरमा अमेरिकी जल सेना पुनर्स्थापित गर्ने रणनीतिक योजनाको छनकसमेत यसबिच देखिएको छ । 

अहिले पश्चिमाहरूले लगाइरहेको आरोप यो हो की कोरोना संक्रमण सुरु भएको चीनको वुहान सहरमा रहेको भाइरोलोजी ल्याबबाट कोरोना बाहिर फैलिएको हुनसक्छ । यो तथ्यहीन आशंका यति सघनरुपमा सामाजिक सञ्जालमा फैलाइँदै छ की जसबाट विश्वभरका मानिसहरू कोरोना चीनको जैविक हतियारको एक अंगकारुपमा थियो भन्ने विश्वास गरुन् । वास्तवमा आधार विहीन र उडन्ते यस्ता टिप्पणी अमेरिकाका ठुला वैज्ञानिकले विश्वव्यापी गर्नुबाट नै यो पश्चिमाको प्रपोगाण्ड मात्र हो भन्ने स्पष्ट हुन्छ । 

यो यस्तो लाजमर्दो आरोप हो की जुन सन् २००२ मा अमेरिकाले इराकसँग आम नरसंहारकारी हतियार छ भनेर लगातार गरिएको प्रचारसँग पुराका पुरा मिल्छ । यही बेतुकको आरोपका आधारमा सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेर कब्जा गरेको थियो । 

कोरोना भाइरसकै सन्दर्भमा कुरा गर्ने हो भने चीन भन्दा बाहिर नै गरिएको धेरै अध्यनहरुले समेत यसको मानवीय निर्माण चीनमा भएको हो भन्न सकेका छैनन् । बरु प्राकृतिकरुपमा चमेरामा भेटिएको यो भाइरसबारे यसअघि अध्ययन अनुसन्धान नभएको चाहिँ पक्का हो । 

तर पनि चीनमाथि यो भाइरस निर्माण गरेको आरोप चाहिँ लगाइदैछ । चिनियाँ वैज्ञानिकको बहुलट्टीपूर्ण प्रयोगको नतिजा यो भाइरस भएको बताईदैछ । अघिल्लो हप्ता मात्र पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले चाएको भए यो संक्रमण बेलैमा रोक्न सक्थ्यो भने । उनले चीने यो निर्माण गरेको प्रमाणित भएमा मूल्य चुकाउनु पर्ने भन्दै आफू त्यसको अनुसन्धानमा लागेको समेत बताए । 

अमेरिका अहिले यस्ता आधारहिन कुरा गर्दै छ की “धेरै वैज्ञानिकहरुले बताए अनुसार” भन्दै ट्रम्प निकट मिडियाहरूले चीनमा कोरोना भाइरस निर्माण गरिएको बारम्बार दोहोर्‍याइरहेका छन् । जबकि अहिलेसम्म कुनै पनि वैज्ञानिकहरूले आधिकारीरुपमा यस्तो आशंकाका सूत्रहरू समेत सार्वजनिक गरेका छैनन् । 

वासिङ्टन पोष्टले केहिदिन अघि आफ्नो सम्पादकीयमा नै लेख्यो, “एउटा समस्या पूर्ण व्याख्या यो छ की कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट फैलिएको हो । जुन चमेराबाट लिएर त्यहाँ अनुसन्धान गरिँदै थियो ।” त्यतिले मात्रै नपुगेर पोस्ट अगाडि थपेको छ, “छल गर्ने, लुकाउने र इतिहासको पुनर्लेखन गर्ने चिनियाँ मोडल नै समस्याको एउटा अङ्ग हो । त्यसैले समाधान गर्न गाह्रो छ ।”

अमेरिकी मिडियाका यस्ता भ्रामक टिप्पणीले कोरोना भाइरसमाथि भइरहेका वैज्ञानिक अनुसन्धानलाई नै गिज्याइरहेको देखिन्छ । नेचर नामक अनुसन्धानात्मक जर्नलमा हालै प्रकाशित एक लेखमा अमेरिकी र बेलायती वनस्पति विज्ञहरूले लेखेका छन्, “हामीले कोरोना भाइरसको उत्पत्ति र जेनोमिक तथ्यांकहरुको अध्ययन अनुसन्धान गरेका छौँ । हाम्रो विश्लेषणले स्पष्टरुपमा देखाएको छ की यो भाइरस कुनै उदेश्यबाट प्रेरित भएर प्रयोगशालामा निर्माण गरिएको भाइरस होइन ।”

भाइरसको आन्तरिक बनावटको विश्लेषण गरेर यस अघि नै चिनियाँ वैज्ञानिकहरूले लेखिसकेका थिए, “यदि भाइरसलाई जेनेटिकल्ली परिवर्तन गरिएको हुँदो हो त यसमा रिभर्स जेनेटिक सिस्टम देखिनु पर्ने हो । त्यसैले यो भाइरस पहिले नै प्रयोग भइसकेको कुनै भाइरसमा गरिएको परिवर्तन होइन ।” 

चिनियाँ वैज्ञानिकहरूले भाइरसमा जेनेटिक परिवर्तन गरिएको कुरालाई त्यस बेला नै खारेज गरिसकेका थिए जुन बेला अमेरिकाले कतै योजनाबद्ध ढङ्गले चीनमा जैविक आक्रमण गरेको त होइन भन्ने आशंका जीवितै थियो । 

तर, चीनले विश्वव्यापी महामारी फैलिरहँदा एक अर्कालाई हिलो छ्याप्नु भन्दा मानवीय आधारमा विश्वभरि सहयोगमा जुट्नु पर्छ भन्ने सोच बनाएर काम गरिरहेका छ । उता, अमेरिकनहरु भने श्रृखलावद्धरुपमा नै चीनले निर्माण गरेर संसारभर यो भाइरस छरेको दलिल गरिरहेका छन् । वासिङ्टन पोष्टले सम्पादकीय लेख्नु अघि नै जोस रोगिन नामका कोलमिस्टले त्यसमै एउटा लेखमा लेखेका थिए, “चिनियाँ सरकार भाइरस उत्पत्ति सम्बन्धीका धेरै आधारभूत प्रश्नहरूको जवाफ दिइरहेका छैन । तर, प्रयोगशालाबाट चुहिएको यो भाइरसले धेरै समस्या खडा गरिसकेको छ ।”

जसरी इराक विरुद्ध त्यहाँका मिडियाहरूलाई अमेरिकी सरकारले प्रयोग गरेको थियो यो प्रकरणमा पनि त्यसै गरिँदै छ । विश्वभरका नागरिकहरूमा चीन विरोधी भाव जगाउन र चीनलाई एक्लो पारेर कोरोना संकटले पारेको क्षतिपूर्ति गर्न अन्यायपूर्ण ढङ्गले बाध्य पार्नु पश्चिमाको योजना रहेको हर तरहबाट प्रमाणित हुन्छ ।

विश्वभरका मानिसहरूमा धन्न अमेरिकी साम्राज्यवाद, यसको कपटपुर्ण व्यावहार र अमानवीय गतिविधिबारे धेरै सूचनाहरू पुगिसकेका छन् । आफ्नो स्वार्थ र आर्थिक लाभका लागि जे जस्ता पनि हर्कत गर्न सक्ने बेसरमहरूले त्यहाँ सत्ता चलाइरहेको सारा दुनियाँलाई थाहा छ । स्वतन्त्र र सत्य पत्रकारिताको रटान लगाउने र झुटै झुटको पुलिन्दा बेच्ने पश्चिमी मिडियाको निर्लज्ज अभ्यास फेरि एक पटक विश्व सामु उदागो भएको छ । जे होस् चीन विरोधी यो प्रपोगाण्ड समय अन्तरमा फिक्का हुने, एउटा अकल्पनीय जालसाझि र कपटपूर्ण उद्देश्य असफल बन्ने पक्का छ  ।

प्रतिक्रिया दिनुहोस