
काठमाडाैं । निजी प्रयोशालालाई पनि कोभिड १९ को परीक्षणका लागि अनुमति दिइएको जानकारी पनि प्रवक्ता देवकोटाले दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा साेमबार (आज) आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको निर्देशिका जारी गरिएको पनि बताए ।
प्रवक्ता देवकोटाले हालसम्म १० हजार ४ सय ७१ को पीसीआर र ४३ हजार ६३ जनाको आरडीटी परीक्षण सम्पन्न भएको जानकारी दिए ।
त्यस्तै हाल क्वारेन्टाइनमा २० हजार १ सय ९५ जना रहेको र आइसोलेसनमा १ सय ६ जनालाई राखिएको जानकारी समेत दिए ।
लकडाउनकाबीच पनि मेलापात, जमघट, सामूहिक भेटघाटमा तीब्रता जस्ता विषयले रोगको जोखिम बढ्ने भन्दै आम मानिसले गर्ने र देखाउने व्यवहारले पनि लकडाउनको अवधि निश्चित गर्ने बताए ।
उनले संक्रमणको जोखिम बढ्न नदिन सबै जना लकडाउनप्रति इमान्दार बन्न आवश्यक रहेको बताउँदै संक्रमितको संख्या नबढे लकडाउनको अवधि पनि त्यही अनुसार निर्भर रहने पनि प्रष्ट पारे ।
५६ चिकित्साकर्मीको दुबै परीक्षण सम्पन्न
पत्रकार सम्मेलनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मुख विशेषज्ञ डाक्टर रोशन पौडेलले कारोना संक्रमितहरुको उपचारमा खटिएका चिकित्साकर्मीहरुको अवस्था बारे जानकारी गराएको छ ।
उनले कोरोना भाइरसविरुद्ध अग्रभागमा रहेर काम गरेका चिकित्सकाकर्मीहरु मध्ये अहिलेसम्म ५६ जनाको आरडीटी र पीसीआर टेष्ट भइसकेको जानकारी दिदै कसैलाई शंका लागेमा परीक्षण गर्न पनि आग्रह गरे ।
साथै स्वास्थ्यकर्मीहरुलाई आवश्यक लजिष्टिकको अभाव भएपनि थप लजिष्टिक उपलब्ध हुने विश्वास दिलाउँदै संक्रमित मध्ये १६ जनालाई निको बनाएर नेपाली चिकित्साकर्मीहरुले ठूलो सफलता प्राप्त गरेको भन्दै प्रशंसासमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस