
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जमा ‘लकडाउन’को मौका छोपी तस्करहरुले सातओटा कस्तुरी मारेका छन् ।
निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा ती मृग मृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ ।
मृत भेटिएकामध्ये एक पोथी, तीन भाले र दुई वटाको लिङ्ग पहिचान हुन नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए ।
उनका अनुसार एक मृगको विना निकालिएको र दुईको शव नै सडेकाले त्यसको पनि झिकेर लगेको अनुमान गरिएको छ ।
पहिचान हुन नसकेको मृत मृग घटनास्थलमै गाडिएको र अन्यको पनि मुचुल्का तयार पारी निकुञ्जको परिसरमै गाडिएको बताइएको छ । करीब १० दिनअघि ती मृग मारिएको हुनसक्ने अनुमान गरिएको छ ।
विश्व सम्पदा सूचीमा परेको राष्ट्रिय निकुञ्ज क्षेत्रको घ्वाला लो भन्ने क्षेत्रमा कस्तुरीलाई पासोमा पारेर मारिएको हो ।
मृगलाई खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण अधिकारी, नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोलीको रोहवरमा मुचुल्का तयार पारी गाडिएको बताइएको छ ।
लकडाउनको मौका छोपी चोरी शिकार गरिएको हुन सक्ने निकुञ्ज प्रशासनले अनुमान गरेको छ । चोरी शिकारमा संलग्नको खोजी जारी रहेको र शङ्का लागेका व्यक्तिमा निगरानी बढाइएको संरक्षण अधिकृत उपाध्यायले बताए ।
खुम्बु पासाङल्हामू गाउँपालिकाकास्थित जंगलमा दुर्लभ वन्यजन्तुको रुपमा रहेको कस्तुरी मृगको बहुमूल्य नाभी बिक्री गर्नका लागि सिकारीले पासो थापेको बताइएको छ ।
जंगलमा जाँदा स्थानीयले मृत कस्तुरी फेला पारेको वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । मारिएका कस्तुरीमध्ये केहीको नाभी झिकिएको छ ।
कस्तुरी मार्नका लागि विभिन्न स्थानमा ५४ ओटा पासो थापेकोसमेत फेला परेको छ । लकडाउनमा गस्ती कम हुने मौका छोपेर तस्करले कस्तुरीको सिकार गरेको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस