
चितवन । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ ।
अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले मंगलबार छापा मारेको हो ।
दिउँसो १ बजे अस्पताल प्रवेश गरेर अख्तियारको टोलीले अस्पताल र भरतपुर महानगरपालिकाका कर्मचारीलाई सोधपुछ गरेर आवश्यक अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाका कार्यालय प्रमुख शिवकुमार कार्कीले जानकारी दिए ।
विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि अख्तियारले अनुसन्धानका लागि छापा मारेको कार्कीले बताए । चैत ७ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पताल भरतपुर महानगरपालिकाको अग्रसरतामा सञ्चालनमा आएको हो ।
चैत २१ गते सो अस्थायी अस्पताल भरतपुरको सरकारी अस्पताल मातहत सञ्चालन हुने निर्णय भएको थियो ।
सोमबार कर्मचारीले सामानहरु ओसारेको भिडियो सार्वजनिक भएको थियो । अस्पताल सञ्चालनका लागि गठन भएको कोरोना नियन्त्रण कार्यदलले भने सामान चोरी भएको नभई प्रक्रियाअनुरुप सामानहरु ओसारेको दाबी गरेको छ ।
कार्यदलले एक विज्ञप्ति जारी गर्दै कार्यदलको स्टोर र कोरोना विशेष (अस्थायी) अस्पतालको स्टोर एउटै ठाउँमा भएकाले व्यवस्थित मात्रै गरिएको भन्दै चोरी प्रकरणको बचाउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस