aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

गोकर्णमा दैनिक पाँच सयलाई खाना खुवाइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ बैशाख २०७७
गोकर्णमा दैनिक पाँच सयलाई खाना खुवाइँदै

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकामा रहेका युवा क्लब तथा टोल विकास संस्थाले लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै आएका छन् ।  गोकर्णेश्वर   ८ र  ९ र काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा लकडाउनयता बिहान र बेलुका व्यवस्थित र सुरक्षित तरिकाले खाना वितरण गरिएको स्थानीयवासीले बताएका छन् ।

विभिन्न संघसंस्थाको सहयोगमा पोको पारिएको निःशुल्क खाना वितरण गरिँदै आएको  आरुबारी डाँडागाउँ टोल सुधार समितिका अध्यक्ष राजेश दाहालले जानकारी दिए । 

उनका अनुसार न्यूनतम सामाजिक दूरी कायम गरी कुपनमार्फत बिहान १० देखि ११ बजेसम्म  र साँझ ६ देखि ७ बजेसम्म पाँचपाँच सय जनालाई निःशुल्क  खाना वितरण हुँदै आएको छ । 

ऐतिहासिक ढुङ्गेधारा कुवा प्राङ्गणमा प्रत्येक दिन खाना वितरण हुँदै आएको छ । खाना लिन आउने सबैको शरीरको तापक्रम जाँच्ने, अनिवार्य मास्क, साबुन पानीले हात धुने र स्यानिटाइजर व्यवस्था  गरिएको उनले जानकारी दिए ।

लकडाउन अवधिमा खान नपाएका वर्गलाई तोकिएको स्थान र अपांगता भएकालाई घरसम्म नै खाना पु¥याउने व्यवस्था गरिएको स्थानीय स्पोर्टस युवा क्लबका अध्यक्ष अनिल देवकोटाले जानकारी दिए । 

उनका अनुसार खाना वितरणसँगै पशुपति तथा स्वयम्भूनाथ क्षेत्रमा रहेका बाँदर, कुकुर तथा छाडा चौपायालाई खाद्यान्न तथा फलफूलसमेत वितरण गरिएको छ ।

लकडाउनदेखि नै सबै संस्था मिलेर नियमित सडक सफाइदेखि औषधि छर्कने तथा चोरी तथा अनावश्यक हिँडडुल रोक्न महानगरीय प्रहरी वृत्त बौद्धको समन्वयमा दिवा तथा रात्रि गस्तीसमेत सञ्चालन भइरहेको उनले जानकारी दिए । 

स्थानीय स्पोर्टस स्पेशल क्लब, बृहस्पति मार्गटोल विकास समाज, आरुबारी डाँडागाउँ टोल सुधार समाज, आनन्दपुर महिला समाज, गोकर्णेश्वर सेवा समाज तथा आनन्दपुर/आरुबारी टोलबासी र अन्य सहयोगीको सहयोगमा निःशुल्क खाना वितरण हुँदै आएकोछ  । गोकर्णेश्वर नगरपालिकाका अन्य वडामा समेत स्थानीयवासीको पहलमा निःशुल्क खाना वितरण हुँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस