
परिवर्तन, समानता र न्यायको युवासुलभ चाहनाले प्रेरित तर विहंगम अध्ययन र ज्ञानको साक्षात्कार हुन नपाएका प्रति लक्षित छ यो आलेख। परिस्थितिले भनौं वा दुर्घटनावश कम्युनिष्ट सिद्धान्तमा लागेर दिग्भ्रमित भइरहनु भएका विद्यार्थी, युवा एवं अन्य परिवर्तन चाहने नागरिकहरूमा यो विशेष अपिल समर्पित गरेको छु।
१. सर्वप्रथम यहाँहरूप्रति विशेष सम्मान । यो आदरभाव किनभने यहाँहरूले समाजमा विद्यमान विभेद र आर्थिक असमानतासँग तपाईहरु सहमत हुनुहुन्न । अनि यो अवस्थालाई निराकरण गरी उपलब्ध श्रोत साधनको उचित बाँडफाँड गर्ने सबैभन्दा उपयुक्त तरिका भनेकै कम्युनिजम वा मार्क्सवाद हो भन्ने लागेर वा ठानेर कम्युनिष्ट कार्यकर्ता हुनुभएको छ। अर्थात्. यहाँ विद्यमान असमानता र विभेद निराकरण गरी समतामूलक समाज निर्माण गर्न चाहनु हुन्छ। हो, तपाईँको उद्देश्य पवित्र छ। त्यसैले त्यो सम्मानयोग्य छ ।
२. तर तपाईँले मार्क्सवादको वास्तविक सिद्धान्त तथा मार्क्स र एंगेल्सद्वारा प्रस्ताव गरिएको कम्युनिष्ट व्यवस्थाको मूलभूत विषयवस्तुबारे समालोचनात्मक ढंगले सोच्नु भएको छ त?
३. मानव जीवनका लागि अन्य विविध ज्ञान दर्शन वा सिद्धान्तको पनि कहीँ कतै कुनै मोडमा उपयोगिता होला कि भनेर सोच्नु भएको छ ?
४. जीवनको सम्पूर्ण सौन्दर्यलाई बोध गर्न र जीवनलाई सर्वोपरि ढंगले उपयोग गर्न ज्ञान र अभिरुचिका अन्य विविध विषयमा तपाईँ लाई थप ज्ञान हासिल गर्दा लाभ हुन्छ जस्तो लाग्दैन? जीवनमा भएका यावत् आयामहरूको सुक्ष्म ज्ञान हासिल गर्न अरू विधा, अरू विषयवस्तु र अन्य राजनीतिक दर्शन प्रति पनि तटस्थ भई अध्ययन गर्दा समाज बदल्ने अरू राम्रो तरिकाहरू पनि भेटिएको खण्डमा स्वीकार गर्न तपाईँ तयार हुनुहुन्छ?
५. माथिका यी प्रश्नको अहिले उत्तर नदिनुहोस्। यी प्रश्नहरू बारे तपाईँ एक्लै बसेर सोच्नुहोला, फुर्सदमा। अहिले हामी मार्क्सवाद र कम्युनिजमकै केही मूलभूत विषयवस्तुबारे समीक्षा गरौं। यसले हामीलाई हाम्रो सन्दर्भमा मार्क्सवादको उपयोगिता के कति हुनसक्छ वा भयो वा थप हुनसक्ला भन्ने बारे मूल्यांकन गर्न सहज हुनेछ।
६. अर्को कुरा हामीले गर्ने यो समीक्षाले हाम्रो संस्कार, राजनीतिक आचरण र जीवन व्यवहारमा साँच्चै मार्क्सले भनेका विषयवस्तु कति हदसम्म कार्यान्वयनमा आए वा किन आएनन् हेर्न सहज हुन्छ। मार्क्सवादीहरूले भनेका त्यही उपायहरूमै समस्या पो छन् कि भनेर बुझ्न मदत गर्नेछ।
७. मार्क्सवादको मूल सिद्धान्त अन्तर्गत राज्यको मूल संरचनाको रूपमा अर्थतन्त्र रहने, अर्थसम्बन्धले नै अन्य उपरिसंरचनाका रूपमा राजनीति, कानून, धर्म, संस्कृति, शिक्षा जस्तो अवयवहरूको निर्धारण गर्ने बिश्वास गरिन्छ । प्रकृति र जीवन जगतलाई वस्तुवादी दृष्टिले द्वैत (द्वन्द्वात्मक भनेर नेपाली नेताहरूले प्रयोग गरेपनि द्वैत सही प्रयोग हो) विधिबाट सन्देहात्मक हिसाबले हेर्नु वैज्ञानिक हुने मान्यता यसले राख्छ । अर्थात्, सबै चीजलाई शंका गरेर हेर्नुपर्ने, व्यक्तिगत नभई सामूहिक हित र उपादेयताका लागि काम गर्नुपर्ने र क्रमशः वर्ग विभेद अन्त्यका लागि आर्थिक रूपमा असमानहरूका बीचमा निरन्तर संघर्ष र क्रान्ति गरी बहुसंख्यक सर्वहाराको सत्ता स्थापना गर्ने यसको उदेश्य रहन्छ । र, त्यसको लागि जनताको आफ्नै सेना, बन्दुक, प्रेस र उत्पादन चाहिने भनी सिफारिस गरेको यहाँलाई थाहा छ भनेर विश्वास गर्दछु।
८. यसरी बन्दुकको नालबाट सत्ता कब्जा गरेर सर्वहाराको नेतृत्व (जर्मन भाषामा अन्तरिम नेतृत्वलाई डिकडेटरसिप भनेर प्रयोग गरिएको तर अधिनायकवाद होइन यसको अर्थ) कायम गरेपछि कसरी समानता कायम गर्ने भन्दा मार्क्सवादले क्षयतावान र सक्षम उत्कृष्टहरूलाई जति सक्दो उनीहरूको क्षमता बमोजिम उपयोग गर्नुपर्ने तर आवश्यकता बमोजिम मात्र गास वास कपास राज्यले दिने भन्ने नीति रहेको छ। यही नीति रसियाले अक्टोबर क्रान्ति पछि कार्यान्वयनमा ल्याउन खोजेको पनि थियो।
९. आजको दुनिंयामा सिर्जना, उद्यम र प्रतिभालाई व्यक्तिगत स्वतन्त्रता दिएर थप प्रोत्साहन गर्नु राम्रो होला कि त्यसलाई तिमीले व्यक्तिगत अभिरुचिको र विशेष क्षमताको काम होइन सामूहिक हित गर्न श्रम गर, भारी बोक वा खाल्डो खन भनेर अरू काममा लगाउदा राज्य र समाजलाई बढी फाइदा होला ? वैयक्तिक स्वतन्त्रता कुण्ठित गरेर कुनै प्रतिभाशाली निपुण र सिप भएको मानिसलाई सामूहिकताको बन्दी बनाएर जबर्जस्ती काममा लगाउने र उसबाट पाइने प्रतिफल बराबर बाँडेर समाजलाई समान बनाउंछु भन्नु न्यायोचित होला त?
१०. काम गर्ने र मेहनतीलाई सम्पत्तिको अधिकार नै नहुने अल्छी काम नगर्नेले पनि पार्टीको सदस्यता पाउने बित्तिकै त्यो मेहनतीको भाग काटेर सम्पत्ति पाउने कुरा तपाईलाई न्यायोचित लाग्छ ? उदाहरणका लागि कुनै पेशा, रोजगार र उद्यम नगरी राजनीतिक कार्यकर्ता भएकै आधारमा बहुसंख्यक करदाताले तिरेको रकम दुरुपयोग गरेर निश्चित मानिस धनी बनाउनुले वास्तविक गरीबी निवारण हुन्छ?
११. समाजमा युगौँदेखिको असमानता र गरीबी हटाउने अहिंसात्मक उपाय भनेको सबै नागरिकलाई र तिनका सन्तानलाई चेतना, शिक्षा र ज्ञान प्रदान गरी धनी हुन सक्षम तुल्याउनु हो। त्यसका लागि गुणस्तरीय शिक्षा सबैलाई समान रूपमा दिने तथा सबै खाले विचार सिद्धान्त र दर्शन अध्ययन मनन गर्न उत्प्रेरित गर्नु अधिकतर ठिक हुन्छ ।यसरी खुला समाजमा खुलापन सहित हरेक व्यवहारिक विषयमा ज्ञान आर्जन गर्न उत्प्रेरित गरी समान अवसर दिनु नै वर्ग विभाजन अन्त्यको उपाय हो।
१२. कुनै एउटा सिद्धान्तको बन्द चौघेरामा लक्ड डाउन भएर मानव जीवन रमाइलो होला कि जीवनका सबै रङ र स्वाद प्राप्त गरेर अनुभूति गरेर आनन्द होला? वास्तवमा प्रकृति आफैं बहुल छ, लोकतान्त्रिक छ, प्रकृतिमा छनोट छ, प्रतिस्पर्धा छ, प्रकृतिमै सहनशीलता पनि छ। यी गुणहरूलाई मनन गरेर हामीले पनि आफ्नो मौलिकता, इतिहास, परम्परा, संस्कृति, रहनसहन, साहित्य, कला, विज्ञान लगायत विविध विषयमा धेरै भन्दा धेरै दर्शनहरू अध्ययन मनन गरी तिनमा भएका राम्रा कुरा जीवन व्यवहारमा लागू गर्दा फाइदा र हितकारी हुँदैन र?
१३. म कम्युनिस्ट हुँ त्यही नजरबाट मात्र हेर्नुपर्छ भनेर जिद्दीपना गरी हामीले मानसिक रूपमा कुनै विचारमा बाँधिएर बाँच्नु भनेको जीवनलाई निश्चित रुपमा यान्त्रिक र जड बनाउनु हो। तपाईं हामीले बोक्ने स्मार्ट फोनमा निश्चित ब्रान्डमा निश्चित सिष्टम र निश्चित सफ्टवेयर मात्र चलेजस्तो के तपाईँ पनि सीमित ब्रान्डेड वस्तु मात्रै हो त? कदापि होइन। अतः जीवनलाई पूर्ण अनुभूति गर्न र आलोचनात्मक चेत सहित बाँच्न तयार हुनुहोस्।
१४. मार्क्सवादले वस्तुनिष्ठ विश्लेषणलाई जोड दिएपनि अन्तिममा तपाईँलाई एउटा परिकल्पनाको साम्यवादी संसारमा लगेर छाड्छ जुन अहिले सम्म कतै मूर्त नभएको एउटा आदर्श कल्पना मात्र हो। कल्पनाको संसारका लागि आज वास्तविक मानिसका विरुद्ध गरिएका हिंसा र अत्याचार कसरी जायज होलान्?
१५. मार्क्सवाद पूरै खराब छ मैले भनिरहेको छैन। यो गरीब मानिसहरूको विषयमा चिन्तित दर्शन हुनाले मानवतावादी र अन्तर्राष्ट्रियतावादी विचारका रूपमा यसका सकारात्मक पक्ष पनि अवश्य छन्। अझ मितव्ययी र सदाचार जीवन व्यवहार गर्न र पीडित शोषितको पक्षमा काम गर्न यसबाट प्रेरणा प्राप्त गरौं। तर, तपाईंको नेताले अनि तपाईँकै दलले मार्क्सवादको नाममा यथार्थमा गरिरहेको काम के मार्क्सवादी छ त? हरेक काम क्रियाकलाप एवं सरकार सञ्चालन सिद्धान्तत: मार्क्सवादी ढंगले चलेको छ त? के तपाईँलाई उनीहरूले कारिन्दा मात्र बनाइरहेका छैनन्? जहाँ जहाँ जीवनमा खतरा हुन्छ ती मुठभेड र दुःखदायी काममा मात्र तपाईँलाई प्रयोग गरिरहेका मात्र छैनन्? के कार्यकर्ता र नेताबीच नै दुई खाले वर्गीय विभेद सिर्जना गरिराखेका छैनन्? के उनीहरूको कथनी र करणीमा भएको अन्तरको विरुद्ध चाहिँ तपाईँले संघर्ष गर्ने सचेत कर्तव्य होइन?
१६. वर्गको समस्यालाई हल गर्नुको सट्टा समस्याको विषयान्तर गर्दै द्वन्द्वको नयाँ बीउ छर्दै सत्ता स्वार्थीहरूले जातीय, क्षेत्रीय, भाषिक विभिन्न गैरवर्गीय सांस्कृतिक चरहरूका आधारमा समाजलाई विभक्त गर्ने, राष्ट्रिय अखण्डता र देशभक्ति विरूद्ध क्रियाकलाप गर्ने कार्य मार्क्सवाद हो त?
१७. नयाँ नयाँ द्वन्द्वको सिर्जना गरी आम नेपाली दाजुभाइ दिदी बहिनीलाई देश र नागरिकको आर्थिक हितमा, सुशासनका निमित्त एकजुट हुन नदिने र त्यसको फाइदा उठाएर सत्तामा बसेकाहरूले मनपरी गरी भ्रष्टाचार गर्ने काम भइरहेको छ। कमिशनका लागि मात्र काम गर्ने प्रवृत्ति तपाईँ हामी करदाता माथिको अन्याय र अत्याचार हो कि होइन?
१८. यी विषयवस्तु मनन गरी खुला समाज, बहुलवादी चिन्तन, सबै खाले विचार र दर्शनको तटस्थ अध्ययन, मनन एवं ज्ञान प्राप्तिको लागि तयार हुनुहोस्। कम भन्दा कम क्षतिमा र शान्तिपूर्ण रूपमा सचेत नागरिकका रूपमा प्रत्यक्ष प्रत्येक नागरिकले शासन गर्न पाउने प्रत्यक्ष लोकतन्त्र स्थापित गर्ने दिशामा आउनुहोस् एकजुट हौं।
१९. हामीले एक्काइसौं शताब्दीको नागरिक हुनुको नाताले राज्यको शासन व्यवस्थामा प्रत्यक्ष सहभागी हुने हाम्रो अधिकार छ। कानून निर्माण गर्दा पनि प्रत्यक्ष नागरिकको जनमत लिएर मात्र कुनै पनि कानून निर्माण गर्ने परिपाटी विकास
२०. जनप्रतिनिधि भनेर दलका प्रतिनिधिलाई नै नागरिकले जिताउन पर्छ भन्ने छैन। स्वतन्त्र नागरिकहरूको विधायिकी नै दलीय स्वार्थ र ह्विपको बन्दी हुँदैन। दल विशेषको संगठन र त्यसको लागि आवश्यक खर्च पनि भ्रष्टाचारको एउटा मुख्य कारण हो ।
२१. दलतन्त्रमा नेता भनिएकाहरूले अपराध व्यापार र राजनीतिको खिचडी पकाइरहेका छन् । त्यसैले माफियाले कम्युनिष्टको रूप धारण गरी मार्क्सवादलाई नै आज भुत्ते तुल्याइदिएको छ। अतः प्रत्यक्ष लोकतन्त्र मार्फत् वास्तवमै धनी र गरीबको वर्ग विभेद अन्त्य गर्न एक जुट बनौं।
(शासकीय व्यवस्थामा विद्यमान बेथिति अन्त्यको लागि अभियानरत लेखक अधिवक्ता हुन् ।)
प्रतिक्रिया दिनुहोस