
काठमाडौं । ५ वर्षमा नेपालीको क्रयशक्ति ५७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७२/७३ देखि २०७६/७७ मा कुल राष्ट्रिय खर्चयोग्य आय (जीएनडीआई) बढेर ४८ खर्ब १८ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । आव २०७२/७३ मा नेपालीको राष्ट्रिय खर्चयोग्य आय ३० खर्ब ६५ अर्ब ३५ करोड थियो ।
सो अवधिमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा जीएनडीआई उच्च भएकाले नेपालीको खर्चयोग्य आय (क्रयशक्ति) पनि उच्च दरमा बढेको हो । नेपालले प्राप्त गर्ने विदेशी सहयोग र वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रेमिट्यान्स (विप्रेषण) उच्च भएका कारणले नेपालको जीएनडीआई उच्च भएको हो ।
वर्षैपिच्छे राष्ट्रिय खर्च योग्य आय बढ्दै गएको तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखामा उल्लेख गरिएको छ । गत आवमा यस्तो आय ४४ खर्ब ९३ अर्ब ५६ करोड रुपैयाँ थियो । खर्चयोग्य आय बढ्नु भनेको नेपालको आम्दानी बढ्नु हो । जति जति नेपालीको आयस्रोत बढ्दै जान्छ उति उति खर्च गर्ने प्रवृति पनि बढ्दै जाने हो ।
पछिल्लो दशकमा नेपालको जनसंख्या वृद्धिदरमा आएको कमीका कारणले पनि नेपालीको प्रतिव्यक्ति खर्चयोग्य आय बढ्न सहयोग पुगेको हो । राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या वृद्धिदर ४ दशकयताकै कम १ दशमलव ३५ प्रतिशत मात्र रहेको छ । त्यसअघिको जनगणनामा यस्तो वृद्धिदर २ दशमलव २४ प्रतिशत थियो ।
रेमिट्यान्समा भएको वृद्धि, वर्षेनी बढ्दै गएको बजेटको आकार, उद्योग तथा सेवाक्षेत्रको उत्पादनमा भएको प्रगतिले गर्दा कुल खर्चयोग्य आयमा वृद्धि भएको को । खर्चयोग्य आयमा वृद्धि भएसँगै नेपालीको राष्ट्रिय आय र प्रतिव्यक्ति आयमा पनि वृद्धि हुँदै गएको छ ।
वर्षीनै राष्ट्रिय आय बढ्दै गएको नेपालीको खर्चयोग्य आय पनि बढ्दै गएको हो । ५ वर्षअघि २२ खर्ब ८७ अर्ब रहेको राष्ट्रिय आय अहिले बढेर ३८ खर्ब १० अर्ब ३५ करोड पुगेको छ । गत आवसम्म यस्तो आय ३४ खर्ब ९८ अर्ब ७७ करोड रुपैयाँ थियो ।
राष्ट्रिय आय बढेसँगै नेपालीको प्रतिव्यक्ति आय पनि बढ्दै गएको छ । गएको आवसम्म एक लाख १८ हजार ६ सय २३ रुपैयाँ रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले ७.४५ प्रतिशतले बढेर एक लाख २७ हजार चार सय ६६ रुपैयाँ पुगेको छ । ५ वर्षअघि एक जना नेपालीले एक वर्षमा औसतमा ८० हजार ७ सय २८ रुपैयाँ कमाउने गरेका थिए ।
यस वर्ष कोरोना भाइरसका कारण पछिल्लो चौमासका महिनाहरूमा अर्थतन्त्र नै ठप्प भएको छ । यसै वर्ष यसबाट तङ्रिन साह्रे गाह्रो छ । सो कारण नेपालीको आय बढेपनि आयको वृद्धिदर भने घटेको छ । यसअघि भूकम्पका गएको आव २०७२/७३ मा ४.२६ प्रतिशतले प्रतिव्यक्ति आय बढेको थियो ।
यस वर्ष पनि नेपालीको प्रतिव्यक्ति आयको वृद्धिदर राम्रोसँग बढ्ने अनुमान गरिएको थियो । तर , कोरोनका कारण अघिल्लो आवमा हुँदै आएको वृद्धिदरमा ब्रेक लागेको छ । अघिल्लो तीन वर्ष १० प्रतिशतभन्दा माथि नै प्रतिव्यक्ति आय वृद्धिदर कायम रहेको थियो ।
प्रतिक्रिया दिनुहोस