aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

ट्रम्पले भनेः चीनले मलाई फेरि राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्छ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
ट्रम्पले भनेः चीनले मलाई फेरि राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्छ

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । समाचार एजेन्सी रोयटर्सलाई बुधबार दिएको अन्तर्वार्तामा चीनले उनी दोस्रोपटक राष्ट्रपति बन्न नचाहेको बताएका छन् । ट्रम्पले कोरोना भाइरसको महामारीलाई चीनले जसरी सम्हालिरहेको छ यो त्यसैको प्रमाण भएको जिकिर गरेका छन् ।

ट्रम्पले भने, ‘नोभेम्बरमा हुने चुनावमा चीनले मलाई रोक्नका लागि जे पनि गर्नेछ ।’ ट्रम्पले कोरोना भाइरसको विश्वव्यापी महामारीका लागि चीनमाथि लगातार आरोप लगाउँदै आएका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ६१ हजार बढीको मृत्यु भइसकेको छ । यसका साथै अर्थव्यवस्था धरासयी बनेको छ भने बेरोजगारी ऐतिहासिक रुपमा बढेको छ ।

कोरोना भाइरसको विध्वंशमाथि ट्रम्पमाथि प्रश्न उठिरहेको छ । उनले समय हुँदा नै सावधानी नअपनाएको आरोप लाग्ने गरेको छ । यता ट्रम्पले भने कोरोना भाइरसको विषयमा चीन नै थप सक्रिय हुनुपर्दथ्यो भन्ने गरेका छन् । अन्तरवार्ताको क्रममा ट्रम्पलाई पत्रकारले चीनमाथि थप ट्यारिफ लगाउनुहुन्छ भन्ने प्रश्न सोधे । यो प्रश्नको जवाफमा ट्रम्पले भने, ‘यस्ता थुप्रै कुरा छन् जुन म गर्नसक्छु ।’

उनले थपे, ‘के गर्न सकिन्छ, त्यो हामी हेरिरहेका छौं । चिनियाँ अधिकारी लगातार आफ्नो छवि सुधार्न कोसिस गरिरहेका छन् र उनीहरु यो मामलामा नितान्त निर्दोष छन् । उनीहरु यसका लागि पिआरको सहारा लिइरहेका छन् । चीनले मलाई रोक्न र राष्ट्रपतिको रेसमा पछाडि पार्नका लागि जे पनि गर्नेछ । चीन डेमोक्रेटिक पार्टीका जो बाइडन राष्ट्रपति बनून् भन्ने चाहन्छ ।’

पछिल्ला दिनमा कोरोना भाइरसको महामारीको विषयमा अमेरिका र चीनबीच शीतयुद्ध चलिरहेको छ । ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस भन्ने गरेका छन् भने चीनले यसमाथि आपत्ति जनाउँदै आएको छ । रोयटर्स

प्रतिक्रिया दिनुहोस