aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

सरकारको निष्कर्ष : होटल क्षेत्र डिप्रेसनमा, उत्पादन र यातायात नकारात्मक, अरु क्षेत्रमा केही हुन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
सरकारको निष्कर्ष : होटल क्षेत्र डिप्रेसनमा, उत्पादन र यातायात नकारात्मक, अरु क्षेत्रमा केही हुन्न

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ५ वटा क्षेत्रमा मात्रै नकारात्मक वृद्धि हुने अनुमान गरेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा विभिन्न १५ वटा क्षेत्रहरुको वृद्धिदर उल्लेख गर्दै होटल, यातायात, भण्डारण तथा सञ्चार, उत्पादनमूलक, खानी र निर्माण क्षेत्रमा वृद्धिदर नकारात्मक हुने प्रक्षेपण गरेको हो । 

राष्ट्रिय योजना आयोगले बुधबार चालु आर्थिक वर्षको राष्ट्रिय लेखामान तथ्यांक सार्वजनिक गर्दै यो वर्ष यो वर्ष ४ वटा क्षेत्रमा वृद्धिदर बढ्ने, ११ वटा क्षेत्रमा घट्ने र ११ मध्ये ५ वटा क्षेत्रको वृछिदर नकारात्मक रहने जनाएको छ ।

विभागका अनुमान अनुसार यो वर्ष होटल क्षेत्रमा सबैभन्दा बढी १६.३० प्रतिशतको नकारात्मक वृद्धि हुनेछ । त्यसबाहेक यातायात, भण्डारण तथा सञ्चार क्षेत्रमा २.४५ प्रतिशत, उत्पादनमूलक क्षेत्रमा २.२७ प्रतिशत तथा खानी क्षेत्रमा ०.६९ प्रतिशत तथा निर्माण क्षेत्रमा ०.३१ प्रतिशतको नकारात्मक वृद्धि हुनेछ । 

यसबाहेक अन्य सबै क्षेत्रको आर्थिक वृद्धिखर सकारात्मक नै रहने विभागको प्रक्षेपण छ । होलसेल तथा खुद्रा, कृषि, रियलस्टेट, सामाजिक सेवा, शिक्षा, वित्तीय क्षेत्र, सार्वजनिक प्रशासन, स्वास्थ्य, मत्स्यपालन, विद्युत् तथा खानेपानी लगायतका क्षेत्रमा भने सकारात्मक वृद्धि हुनेछ । 

आर्थिक वृद्धिदर सकारात्मक नै रहे पनि होलसेल तथा खुद्रा क्षेत्रमा औसत आर्थिक वृद्धिभन्दा कम वृद्धि हुने प्रक्षेपण गरिएको छ । यो क्षेत्रमा २.११ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । अरु क्षेत्रमा भने औसत वृद्धिभन्दा माथिकै आर्थिक वृद्धिको पूर्वानुमान गरिएको छ । जबकी यो वर्ष अर्थतन्त्रमा २.२८ प्रतिशत वृद्धि हुने अनुमान समेत गरेको छ ।

जसमध्ये कृषि क्षेत्रमा २.४८ प्रतिशत, रियलस्टेट क्षेत्रमा ३.२५ प्रतिशत, सामाजिक सेवाको क्षेत्रमा ४.७० प्रतिशत, शिक्षामा ४.८८ प्रतिशत, वित्तीय क्षेत्रमा ५.१५ प्रतिशत, सार्वजनिक प्रशासनमा ६.९१ प्रतिशत, स्वास्थ्य क्षेत्रमा ७.०७ प्रतिशत, मत्स्यपालनमा ७.१७ प्रतिशत तथा विद्युत् तथा खानेपानी क्षेत्रमा २८.७५ प्रतिशतको सकातात्मक वृद्धि रहने प्रक्षेपण छ ।

लकडाउनका वबजुद पनि ५ वटा क्षेत्रमा भने अघिल्लो वर्षमा भन्दा पनि बढी वृद्धि हुने अनुमान गरिएको छ । ती क्षेत्रहरुमा विद्युत् र खानेपानी, मत्स्यपालन, सार्वजनिक प्रशासन र स्वास्थ्य क्षेत्र छन् । वित्तीय क्षेत्रमा भने वृद्धिदर सामान्य घटे पनि अझै पनि उल्लेख्य वृद्धिदर कायमै रहने प्रक्षेपण गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस