aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ बैशाख २०७७
रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

रोल्पा । रोल्पामा बम विस्फोट हुँदा चारजना बालबालिकाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ७ गैरीगाउँमा बुधवार बेलुका बालबालिकाको बम विस्फोटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

बेवारिसे अवस्थामा रहेको बम विस्फोट भएको थियो । पुरानो बमलाई नचिनेर खेलाउने क्रममा उक्त घटना भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ निवासी लालबहादुर खत्रीका ५ वर्षीय छोरा विजय खत्री, उनकी ११ वर्षीया दिदी विमला खत्री, लक्ष्मण नेपालीका १३ वर्षीय छोरा गौरब नेपाली र ओजबहादुर डाँगीका १४ वर्षीय छोरा नोखिराम डाँगी रहेका छन्।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रवक्ता नवराज पोखरेलले गाई बाख्रा चराउन गएका बच्चाहरुले बेवारिसे अवस्थामा रहेको बमलाई खेलौना ठानेर खेलाउन खोज्दा विष्फोट हुन गई चार बालिबालिको एकै साथ मृत्यु भएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले बेलुका ६ बजेतिर स्थानीय माईतेकापिना जंगलमा गाई बाख्रा चराउन गएका बालबालिकाले बेवारिसे अवस्थामा रहेको टुईञ्च मोटर बम चलाएपछि विस्फोट हुँदा दुःखद घटना भएको जानकारी दिए।

‘बेवारिसे अवस्थामा त्यहाँ दुईवटा टुईञ्च मोटर बम जंगलमा रहेछन्, त्यसमध्ये एउटालाई बच्चाहरुले खेलाउना ठानेर खेलाउँदै गर्दा अचानक विष्फोट भई उनीहरुको घटानास्थलमै मृत्यु हुन पुग्यो,’ डिएसपी गुरुङले भने।

प्रतिक्रिया दिनुहोस