
रुस । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ । कोरोना भाइरसको संक्रमणपछि बिरामी परेका उनलाई अस्पताल भर्ना गरिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।
रुसमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेकै दिन बिहीबार उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । रुसमा बिहीबार एकै दिन सात हजार ९९ जना संक्रमण पुष्टि भएको हो, त्यसमध्ये एक प्रधानमन्त्री मिखाइल पनि हुन् ।
गएको जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका मिखाइल रुसमा कोरोना भाइरसको महामारी नियन्त्रण अभियानको नेतृत्वमा रहेर काम गर्दै आएका छन् । रुसी टेलिभिजनमा उनले आफूलाई संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताउँदै गरेको देखाइएको छ ।
प्रधानमन्त्री मिखाइलले भिडियो कलमा राष्ट्रपति पुटिनलाई भनेका छन्, ‘मैले भर्खरै थाहा पाएँ कि मलाई कोरोना भाइरसको संक्रमण भएको रहेछ ।’ उनी अस्पतालमा रहँदा प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एन्ड्री बेलोउसोभले सम्हाल्ने तय भएको छ ।
प्रतिक्रिया दिनुहोस