
अमेरिका । अमेरिकी अधिकारीहरुले हाल प्रचलनमा रहेको एक औषधिले कोरोना भाइरसका बिरामीलाई निको पार्न सहयोग पुर्याउने दाबी गरेका छन् ।
विश्वभरका अस्पतालहरुमा इबोलाका लागि विकसित गरिएको ‘रेम्डेसेभियर’ नामक औषधिको प्रयोगले बिरामी निको हुन सहयोग पुग्ने स्पष्ट आधार भेटिएको जनाइएको छ । अधिकारीका अनुसार उक्त औषधिको प्रयोगले कोभिड–१९ का कारण विकसित लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको छ ।
बीबीसीका अनुसार यसबारे पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन । विज्ञहरूले उक्त दाबी पुष्टि भएमा यो निकै राम्रो हुने भए पनि कोभिड–१९ को उपचारका लागि यो ‘जादूको छडी’ भने नहुने बताएका छन् । रेम्डेसेभियर मानिसको बचाउन सघाउने, अस्पतालहरूमा चाप कम गर्ने तथा लकडाउन खुकुलो पार्ने वातावरण सिर्जना हुन सक्ने जनाइएको छ ।
रेम्डेसेभियर खासमा इबोलाको उपचारका लागि विकसित गरिएको एन्टिभाइरल औषधि हो । यसले मानव शरीरमा भाइरस बढ्न आवश्यक पर्ने एन्जाइमलाई आक्रमण गरी कार्य गर्दछ ।
अमेरिकाको ‘नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेज (एनआईएआईडी)’ ले गरेको अध्ययनमा १ हजार ६३ जनाले भाग लिएका थिए । तीमध्ये केहीलाई उक्त औषधि दिइएको थियो । केहीलाई भने रेम्डेसेभियर नदिईकनै उपचार गरिएको थियो ।
एनआईएआईडीका प्रमुख डा. एन्थोनी फाउची भन्छन्, ‘हामीलाई प्राप्त तथ्यांकले रेम्डेसेभियरको प्रयोगले कोरोनाका बिरामी निको हुने समय घट्ने स्पष्ट, महत्त्वपूर्ण र सकारात्मक असर देखिएको छ ।’ औषधिले भाइरसलाई रोक्न सक्ने यो परिणामले देखिएको र हामीले कोभिड–१९ का बिरामीको उपचार गर्न सकिने तथ्य उजागर भएको बताए ।
यो औषधिको प्रयोगले मृत्युदरमा कस्तो असर पार्यो भन्नेबारे भने प्रस्ट छैन । तर रेम्डेसेभियरको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्युदर ११.६ प्रतिशतबाट ८ मा झरेको दाबी गरिएको छ ।
त्यसैगरी, औषधिले निको हुने क्षमता भएका बिरामीलाई छिटो निको बनाएको वा अन्य अवस्थामा सघन उपचार आवश्यक पर्नेलाई त्यो नपरेको हो भन्ने स्पष्ट छैन । त्यस्तै, कुन उमेर समूहका मानिसका लागि यो औषधि उपयोगी भन्ने पनि खुलाइएको छैन ।
कतिपय विज्ञहरुले भने यो औषधिको प्रयोग गर्नुअघि थप परीक्षण गरिनुपर्ने बताएका छन् । ‘हामीले विस्तृत परिणाम हेर्नै पर्छ । पुष्टि भए यो निकै गजब हुनेछ कोभिड–१९ विरुद्धको युद्धमा यो निकै खुसीको खबर हुनेछ,’ अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक पिटर हर्बीले भने । विश्वविद्यालयले हाल कोभिड–१९ विरुद्धको खोपको परीक्षण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस