
एजेन्सी । अमेरिकाको मेशिगन राज्यसभा भवनमा लकडाउनको अन्त्य माग गर्ने हतियारधारी प्रदर्शनकारीहरू प्रवेश गरेका छन् । मास्क नलगाएका र सामाजिक दुरी समेत कायम नगरेका सयौँको सङ्ख्यामा रहेका प्रदर्शनकारीहरू सो प्रान्तीय मुख्यालयमा प्रवेश गरेको बिबिसीले जनाएको छ ।
त्यहाँका गभर्नर ग्रेटचेन व्हाइटमेरले मार्च १५ सम्म लकडाउन कायम राख्ने घोषणा गरे सँगै त्यसको बिरुद्द हतियार सहित प्रदर्शन भएको हो । अमेरिकाको कोरोनाबाट अति प्रभावित मध्येको एक राज्य मेशिगन मा हालसम्म संक्रमणका कारण ३ हजार ७८८ जनाको ज्यान गइसकेको छ ।
त्यहाँ ४१ हजार भन्दा बढी कोरोना संक्रमित रहेका छन् । त्यहाँ प्रदर्शनकारीहरुले पसल खोल्न तथा काम सुचारु गर्न माग गरेका हुन् । उनीहरूले राज्यले लगाएको लकडाउनको अवज्ञा गर्न समेत सबैलाई आव्हान गरेका छन् ।
समाचारमा जनाइए अनुसार उनीहरुले खुल्ला रूपमा बन्दुक बोकेका थिए । प्रदर्शनकारीलाई भवन भित्र प्रवेश गर्न नदिने प्रहरीको प्रयास विफल भएपछि त्यहाँ छलफलमा रहेका सिनेटरहरूले बुलेट प्रुफ ज्याकेट लगाएका थिए ।
प्रदर्शकारीहरुले हामीलाई भित्र जान देऊ, यो जनताको घर हो, हामीलाई बाहिर राख्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए । भवनलाई देखाउँदै उनीहरू, ‘भाइरस यहाँ भित्र छ। त्यसको अन्त्य गरिनुपर्छ । हामीलाई काममा फर्काइयोस् ।’ भन्दै आक्रोश पोखिरहेका देखिन्थे ।
समाचारमा उल्लेख भए अनुसार यस्तो खालको यो हालसम्म कै सबैभन्दा ठुलो प्रदर्शन हो । यसअघि राज्यसभा भवन अगाडी गाडी जाम गरेर अप्रिल १५ मा विरोध प्रदर्शन गरिएको थियो । उता राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्ता प्रदर्शनलाई समर्थन गर्दै ‘मेशिगनलाई स्वतन्त्र गर !’ भन्ने ट्विट गरेका थिए । उनको यस्तो कामले हिंसा बढाउने भन्दै आलोचना भएको छ ।
प्रतिक्रिया दिनुहोस