aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

जहाँ आमाले बच्चाको मन भुलाउन ढुङ्गा पकाइन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ बैशाख २०७७
जहाँ  आमाले बच्चाको मन भुलाउन ढुङ्गा पकाइन्

केन्या । कोरोना संकटले केन्यामा एक महिलालाई यति गरिब बनाइदियो कि उनले आफ्ना बच्चालाई फकाउनका लागि ढुङ्गा उमालेर खाना पकाएको भन्दै नाटक गर्नुपरेको थियो । आठ सन्तानकी यी महिलाको नाम पेनिना बहानी कित्साओ हो । पेनिना अशिक्षित र विधवा हुन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र आफ्ना बालबच्चाको पेट पाल्थिन् तर कोरोना संक्रमण फैलिएपछि उनको काम ठप्प भयो ।

पेनिनाका लागि गरिबी र मुश्किल यति बढ्यो कि उनीसँग आफ्ना बच्चाका लागि खुवाउन केही पनि थिएन । त्यसकारण उनले आफ्नो बच्चालाई फकाउनका लागि ढुङ्गा उमाल्न सुरु गरिन् । पेनिनाले सोचिन् कि आमाले केही पकाएको देखेर बच्चाहरु कुर्दाकुर्दै निदाउनेछन् । 

एक छिमेकी उनको बच्चाहरु रोएको सुनेर केही समस्या त छैन भनेर हेर्न पुगिन् । त्यहाँ उनले जे देखिन् त्यसको भिडियो बनाइन् र यसबारे मिडियालाई जानकारी दिइन् । पेनिनाको कहानी सुनेर मानिसहरुले उनीहरुका लागि पैसा जम्मा गरिदिए । उनलाई केन्याभरीका मानिसहरुले फोन गर्न थाले । पेनिनाका एक छिमेकीले उनको बैंक अकाउन्ट खोलिदिए जसमार्फत् उनले पैसा पाइन्।

पेनिनाले भनिन्, ‘मैले कहिले पनि सोचेकी थिइनँ कि केन्याका मानिसहरु यति सहयोगी हुन्छन् ।’ आफूमाथि सहयोग आउनुलाई उनी चमत्कारको संज्ञा दिन्छिन् । उनले भनिन्, ‘मेरा सन्तानलाई थाहा भयो कि मैले ढुङ्गा पकाएर उनीहरुलाई फकाउने कोसिस गरिरहेकी छु । तर मसँग अर्को कुनै विकल्प पनि थिएन ।’ केन्यामा हालसम्म ३ सय ९५ संक्रमित भेटिएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । बीबीसी 

प्रतिक्रिया दिनुहोस