aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

ट्रम्पले दिए चीनमाथि प्रतिबन्ध लगाउने चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० बैशाख २०७७
ट्रम्पले दिए  चीनमाथि प्रतिबन्ध लगाउने चेतावनी

 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । ‘कोरोना भाइरस संक्रमण रोक्न चीनको असफलतालाई मध्यनजर गर्दै चीनमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई नकार्न सकिँदैन,’ ट्रम्पले भनेका छन् ।

ट्रम्पले यो कुरा अमेरिकी राष्ट्रपतिहरुका लागि बनाइएको फार्म हाउस क्याम्प डेभिभ जानका लागि हेलिकप्टरमा चढ्नुअघि पत्रकारहरुसँग कुरा गर्दै भनेका हुन् ।

२८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर ननिस्किएका ट्रम्पले अब सो फार्म हाउसमा एक साता बिताउने बताइएको छ । उनी आफ्ना केही सहयोगी र छोरी इवान्का ट्रम्पसँग फार्म हाउस गएका छन् ।

अमेरिकाले चीनको ल्याबबाट कोरोना भाइरसको महामारी फैलिएको दाबी गर्दै आएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनले पर्याप्त सावधानी नअपनाएको र विश्व स्वास्थ्य संगठनले पनि चीनको पक्षपोषण गर्दै आएको आरोप ट्रम्पले लगाउँदै आएका छन् । यही कारण अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई गर्दै आएको आर्थिक सहयोग कटौतीसमेत गरेको छ ।

यसअघी नै उनले अमेरिकी जासुसी संस्थाले नै कोरोना भाइरस मानव निर्मित नभएको बताइरहेका बेला चीनको वुहान सहरको एक प्रयोगशालामा यसको विकास गरिएको प्रमाण नै आफूसँग रहेको भन्दै सबैलाई चकित पारेका थिए । 

बिहीबार उनलाई एक पत्रकारले तपाई यती आत्मविश्वास सहित कसरी कोरोना भाइरस चीनको वुहान सहरमा रहेको इन्स्टिच्युट अफ भाइरोलोजीमा नै उत्पादित हो भन्न सक्नु हुन्छ ? के तपाइसँग कुनै प्रमाण छ ? भनेर सोधेका थिए ।

त्यसको जवाफ दिने क्रममा उनले, ‘हो मसँग प्रमाण छ ।मलाई के लाग्छ भने विश्व स्वास्थ्य सङ्गठनलाई चीनको प्रचारप्रसार गर्न लाज लाग्नु पर्ने हो । डब्लुएचओ चीनको जान सम्पर्क कार्यालयको जस्तो काम गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस