
काठमाडौँ । अमेरिका र चीन बिचको तनाव पुरानै हो । तर, कोरोना महामारी र अमेरिकी राष्ट्रपतिको आसन्न चुनावका कारण त्यो अहिले निकै बढेको छ । यो साता चीन बिरुद्द अमेरिकी आक्रमण निकै नै कडा भएको देखिएको छ । यहाँ सम्मकी चीन बिरुद्द अमेरिकी नाकाबन्दी लगाउन सक्ने चेतावनी समेत डोनाल्ड ट्रम्पले दिएका छन् ।
त्यसो त ट्रम्प पनि आफूलाई चीनले कसरी हेर्दै छ भन्नेमा स्पष्ट छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग उनले भनिसकेका छन्, ‘मलाई फेरी राष्ट्रपति बन्न नदिन चीन जे गर्न पनि तयार छ ।’
ट्रम्प कोरोना भाइरसको महामारी चलिरहेका बेला आफ्नो चुनावी अभियान चीन तर्फ मोड्न खोजिरहेका छन् । यसले अब संसार कै सर्वाधिक ठुला दुई अर्थतन्त्र बिच सम्बन्ध निकै नराम्ररी बिग्रने पक्का भएको छ । अहिले कोरोना भाइरसको कारण अमेरिका लगभग थला परेको छ भने चीनले आफूलाई सम्हालिसकेको अवस्था छ । चीनमा जति कुल सङ्क्रमित भए त्यो हाराहारीमा अमेरिकामा मानिसले ज्यान गुमाइसकेका छन् ।
त्यसो त अहिले अमेरिकामा ट्रम्पको नीतिको व्यापक रूपमा आलोचना भइरहेको छ । जसले गर्दा उनको चुनावी अभियान समेत निकै कमजोर बनेको छ । कोरोना भाइरससँग जुध्न ट्रम्पले जस्तो रणनीति अवलम्बन गरे त्यो ठिक थिएन भनेर विपक्षी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले ट्रम्प बिरोधी मुद्दा उचालिरहेका छन् ।
त्यसैले अहिले ट्रम्प आफ्नो चुनावी अभियानको दौरान प्रतिद्वन्द्वी जो बाइडनलाई चीनको प्रायोजित उम्मेदवार भनेर प्रचार गर्ने माहौल सिर्जना गरिरहेका छन् । उनले यो सङ्केत यसअघि नै बाइडनलाई 'बेइजिङ बाइडन' भनेर सम्बोधन गर्दै देखाइसकेका छन् । उता बाइडन भने ट्रम्पले कोरोना महामारीमा देखिएको आफ्नो असक्षमता ढाकछोप गर्न यस्ता आरोप लगाएको बताउँदै छन् ।
बाइडन भने ट्रम्प प्रशासनले चीन माथि आँखा चिम्लिएर विश्वास गरेको र चीनले दिएको सूचनामा भर परेर यो सङ्कट निम्तिएको बताउँदै आइरहेका छन् । यसले के देखिन्छ भने अमेरिकी जनतामा रहेको चीन विरोधी भावनालाई आफ्नो पक्षमा लिन दुवै उम्मेदवार लागि परेका छन् । ट्रम्पले आफूलाई राष्ट्रवादी देखाउन र चीन विरोधी भाव अमेरिकी जनतामा बढौँ यसअघि नै चीन बिरुद्द व्यापार युद्ध गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस