aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
विचार मन्थन

दूरदर्शिता : नेतृत्वमा हुनुपर्ने महत्त्वपूर्ण सीप

  • सुमन दाहाल
    सुमन दाहाल
  • शनिबार, २० बैशाख २०७७
दूरदर्शिता : नेतृत्वमा हुनुपर्ने महत्त्वपूर्ण सीप

अनुकुलित नेतृत्व  र दूरदर्शिता

परम्परागत नेतृत्वले पूर्व निर्धारित लक्ष्य हासिलका लागि पूर्वनिर्धारित प्रक्रिया र पद्धति अपनाएर कार्य अगाडी बढाउँदछ । तर आजको परिवर्तित सन्दर्भमा छिन छिनमा भइरहेका अन्वेषण र विकासका कारण केही समय अगाडीका सोच वा प्रविधिहरू तुरुन्तै बेकम्मा हुन थालेका छन् । तसर्थ समय अनुकूल वातावरण अनुकूल नेतृत्व चाहिएको छ । वातावरणलाई आफ्नो लक्ष्य अनुकूल बनाउने वा वातावरण अनुकूल आफ्ना विधि प्रक्रिया अपनाई निरन्तर चौकन्ना रही भविष्यको आकलन गरिरहने नेतृत्व (Adaptive Leadership) आजको आवश्यकता हो ।

कहिलेकाहीँ हामी आफ्नो सङ्गठन वा समूह वा परिवार भित्र मात्र रहेर सोच्ने गर्दछौँ । हामीले आफ्नो मात्र परिवेशलाई बुझेर धारणा बनाउँदा एकाङ्की पनि हुन सक्दछ ।

अनुकुलित (Adaptive) भन्नाले परिवर्तित सन्दर्भ बमोजिम आफूलाई परिष्कृत गर्दै लैजानुलाई बुझिन्छ । वर्तमान समयमा भोलि वा एक छिन पछिको अवस्थाको आकलन गर्न गाह्रो छ । यस्तो अनिश्चित समयमा कुनै पनि समस्याको समाधान पनि अनिश्चित (Uncertain) वा नजानेको (Unknown) हुन्छ । धेरै प्रकारले समाधान गर्न सकिने भएता पनि कुन चैँ समाधान सही हो भन्न सकिन्न । यस्तो समस्याका लागि समाधान खोज्न निरन्तर अभ्यास र प्रयोग गरिरहनेका साथै निरन्तर अध्ययन जरुरी हुन्छ ।

अनुकुलित नेतृत्व (Adaptive Leadership) विशेष गरेर स्वजागरणका पक्षमा रहन्छ । बढी भन्दा बढी पारदर्शिता अपनाउनका लागि सूचनाको आदान प्रदान गर्दै आफ्नो समूहलाई भविष्य द्रष्टा बनाउन प्रयत्नरत रहन्छ । यस्तो नेतृत्वले जीवनलाई एउटा सिकाइको अवसरको रूपमा लिन्छ र जीवनभर सिक्नका लागि अरूलाई प्रोत्साहित गर्दछ । यस्तो नेतृत्वमा कुनै पनि किसिमको पक्ष धरता (Biasness) हुँदैन । उसले जहिले पनि स्वतन्त्र दिमागले सोचेर (Psychflex) निर्णय लिन्छन् र आफ्नो कामलाई जहिले पनि सकारात्मक तरिकाले परिभाषित गर्दछन् ।

                                     लेखक

अनुकुलित नेतृत्व (Adaptive Leadership) ले जहिले पनि आफू र आफ्नो टिमलाई दूरदर्शी बनाउन खोजिरहेको हुन्छ । दूरदर्शिता (Foresight) शब्दले सुदूर भविष्यसम्म हेर्न सक्ने मानवीय गुण जनाउँछ । भविष्यमा हुन सक्ने वा घट्न सक्ने घटनाक्रमको अनुमान गर्न सक्ने क्षमता नै दूरदर्शिता हो । अग्र सोच, भविष्य द्रष्टा हुनु दूरदर्शी हुनु हो । भविष्यमा हुनसक्ने दुर्घटनाको पूर्वानुमान गरी त्यसको सावधानी अपनाउने विषय वा भविष्यलाई एउटा आकलन गरी त्यसै मुताबिक अगाडी बढ्नका लागि चाँजोपाँजो मिलाउने विषय सँग दूरदर्शिता सम्बन्धित छ ।

नेतृत्व भनेको सकारात्मक लक्ष्य प्राप्तिका लागि आफ्ना अन्तरगतका कर्मचारी वा अनुयायीहरूलाई सकारात्मकता प्रभाव पार्ने कला एवं गुण हो । नेतृत्वले दिशावोध गरी दिशानिर्देश गराउँदछ । नेतृत्वमा रहने व्यक्ति सधैँ अग्रस्थानमा हुन्छ । अगाडी हुन्छ । उसले समाजलाई, वातावरण अनुकूल डोर्‍याउँदछ । यसरी समाजलाई अगाडी बढाउनका लागि नेतामा भविष्य देख्न सक्ने दूरदर्शी (Foresight) गुण हुनुपर्दछ ।

आम मानिसले आफ्नो जीवन सञ्चालनका लागि केही न केही सोच राखेको हुन्छ भने राज्य सञ्चालनका लागि राज्यसंयन्त्रले पनि भविष्यको सोच सहित सोको योजना तथा कार्य योजना बनाई कार्यान्वयन गरेको हुन्छ ।

दूरदर्शी सीप आफूमा कसरी विकसित गर्ने

हामी कुनै पनि कुरा सोच्दछौँ । यस्तो हुन्छ होला भन्ने अनुमान गर्दछौँ भने त्यसमा हामीले केही न केही मान्यता (Assumptions) मा अडिएर अनुमान गरेका हुन्छौँ । पानी पर्छ पर्दैन भन्नका लागि आकाशको अवस्थालाई हेरेर त्यस्तो अवस्थामा विगतमा के भएको थियो । पानी परेको थियो कि थिएन भनी एउटा मान्यता स्थापित गरेर धारणा बनाउँछौँ । तर, यस्ता मान्यता वा हाम्रो सोचाइको एकपक्षीयपन (Bias) ले हाम्रो दृष्टिकोण (Perspective) निर्धारण गरेको हुन्छ ।

त्यही दृष्टिकोण अनुसार नै हाम्रो हेराई र बुझाइ रहेको हुन्छ । तर यदि हामी भविष्य द्रष्टा हुन चाहन्छौँ वा भनौँ दूरदर्शी नेतृत्व विकास गर्न चाहन्छौँ भने हामीले हाम्रा सोचाईकन मान्यता तथा दृष्टिकोणहरूलाई पटक पटक नियाल्नुपर्दछ । पटक पटक प्रश्नहरू गर्नुपर्दछ । सकेसम्म युवापुस्तासँग छलफल, कुराकानी गरेर हाम्रा दृष्टिकोणहरूलाई माझ्नुपर्दछ । तब मात्र हाम्रा सोचाइहरूमा निखारता आई अग्र सोच विकसित हुन्छ ।

कहिलेकाहीँ हामी आफ्नो सङ्गठन वा समूह वा परिवार भित्र मात्र रहेर सोच्ने गर्दछौँ । हामीले आफ्नो मात्र परिवेशलाई बुझेर धारणा बनाउँदा एकाङ्की पनि हुन सक्दछ । एक पक्ष मात्र बुझेर धारणा बनाउनु भनेको छामेका भरमा हात्तीको वर्णन गरे जस्तो हुन सक्दछ । तसर्थ, हामीले बनाएका सोच वा हाम्रा धारणाहरूलाई अन्य बाहिरका नजरबाट पनि हेर्ने प्रयास गर्नुपर्दछ । हामीले सबै राम्रै ठिकै देखेको कुरा अरूको नजरमा फरक हुन सक्दछ । तसर्थ अन्य पक्ष बाट पनि विषयलाई हेर्ने र बुझ्ने गर्न सक्दा हाम्रो दृष्टिकोण अझ निखार र परिष्कृत हुँदै जान्छ ।

यदि हामी भविष्य द्रष्टा हुन चाहन्छौँ वा भनौँ दूरदर्शी नेतृत्व विकास गर्न चाहन्छौँ भने हामीले हाम्रा सोचाईकन मान्यता तथा दृष्टिकोणहरूलाई पटक पटक नियाल्नुपर्दछ । पटक पटक प्रश्नहरू गर्नुपर्दछ । सकेसम्म युवापुस्तासँग छलफल, कुराकानी गरेर हाम्रा दृष्टिकोणहरूलाई माझ्नुपर्दछ ।

भविष्यपरक सोचको विकासका लागि कल्पना शीलता अत्यन्त आवश्यक पर्दछ । सृजनशीलताका लागि कल्पना मूल आधार हो, जरा हो। आज उपलब्ध वस्तुस्थिति र घटनाहरूलाई अध्ययन गरी हेर्दा आजको २०,३० वा ५० वर्ष पछि आजको परिवेश के कस्तो रूपमा परिवर्तन हुनसक्ला । हाम्रो जीवनमा के परिवर्तन आउला भनेर सोच्न नसक्ने / नसोच्ने / सोच्न डराउने मानिसले वास्तवमा नेतृत्व गर्न असम्भव ठहर्छ, अबका दिनमा ।

कुनै पनि काम/कुरा/विषय कल्पनाबाट सुरु हुन्छ । भनिन्छ इन्जिनियरले एउटै भवन तीन पटक बनाउँछ रे - एक पटक कल्पनामा, दोश्रोपटक ड्रइड्गमा र तेश्रोपटक जमिनमा । कल्पनामा आधारित भई नयाँ विषयमा अभिव्यक्त गरेका कुराहरू त्यसवखत सुन्ने सबैले हँसिमजाकको रूपमा उडाउने गर्दछन् । कुनै पनि नयाँ सोच/कुरा झट्ट सुन्दा पत्याउन गाह्रो पर्दछ । भनिन्छ, कुनै पनि नयाँ सोच वा सृजनालाई व्यवहारमा उतार्नका लागि १८ देखि ३६ वर्ष सम्म लाग्दछ । हवाईजहाजको अन्वेषणका कल्पना होस वा मोबाइल फोन वा इन्टरनेटको कुरा सबै सुरुमा सुन्दा हाँसो उठ्ने खालका थिए ।

सन् १९८० तिर रोबोटका लागि पनि कानुन बनाइ अधिकार दिनुपर्दछ भन्ने कुरा हाँसोको विषय थियो तर आज त्यो सत्य हुँदै गएको छ । सन् १८९५ ताका बेलायतका भौतिक शास्त्री तथा गणितज्ञ लर्ड केल्भिन (Lord Kelvin) जो ब्रिटिस रोयल सोसाइटीका अध्यक्ष पनि थिए तिनले - हावा भन्दा गर्हौं वस्तु हावामा उडन सक्दैन (Impossible) भनेका रहेछन् तर आज हेर्नुस् त हवाईजहाजहरू ।

यसरी सुरुमा कुनै पनि कल्पना / सृजना उत्पन्न हुनु Issue Emerge हुनु हो । ती Issue हरूमा व्यापक छलफल र अनुसन्धानहरू हुन थाल्दछन् । विभिन्न सोध तथा अध्ययनहरू विश्वविद्यालय तथा अनुसन्धान केन्द्रहरूमा हुँदै गएर mainstreaming हुन थाल्दछन् र अन्ततः कानुनमा प्रयुक्त हुँदै तथा व्यवहारमा प्रयोग हुन थाल्दछन् । यसलाई Emerging Issue S-curve ले पनि चित्रण गर्ने गरिन्छ । तर यसरी नयाँ विषयलाई अगाडी बढाउने क्रममा त्यसमा विभिन्न अवरोध आइपर्दछन् भने कतिपय issue त्यसै बिलाएर पनि जान्छन् ।

Emerging Issue S-curve

(https://visionforesightstrategy.wordpress.com/2015/03/23/s-curving-defense-and-security-sources/)

प्रवृत्ति र परिदृश्य

प्रवृत्ति (Trend) भनेको विगत देखि आजका मितिसम्मका गतिविधि तथा विवरणहरूको एकमुष्ट चित्रण हो । बिम्ब हो । परिदृश्य (Scenario) भनेको भोलिका सम्भावित परिघटना वा गतिविधिको चित्रण हो । आकलन हो । खाका हो । यसरी Trend लाई हेरेर Scenario को अनुमान / आकलन गर्ने विषयसँग दूरदर्शिता (Foresight) सम्बन्धित छ । हिन्दीमा एउटा कहावत छ कि "संसार का सबसे बडा दिवालिया वह है जिसने उत्साह खो दिया" वास्तवमा भोलिको समृद्धिका लागि भोलिका सम्भावित गतिविधि तथा इच्छित घटना प्राप्तिका लागि उत्साहपूर्वक कल्पना शीलता अत्यावश्यक हुन्छ । यसबाट एउटा भोलिको परिदृश्य अनुमान गर्न / तयार गर्न सहज हुन्छ ।

Rogers Adoption Curve

(https://medium.com/the-political-informer/the-rogers-adoption-curve-how-you-spread-new-ideas-throughout-culture-d848462fcd24)

Rogers Adoption Curve ले नयाँ अन्वेषण वा विचारलाई कसरी व्यवहारमा लैजान सकिन्छ भन्ने बारेमा वर्णन गर्दछ । कुनै पनि नयाँ विचारलाई तत्काल स्वीकार गरिन्न । एकदमै कम व्यक्तिहरूले मात्र त्यसमा चासो दिन्छन् । करिब २-३ प्रतिशत मानिसहरू जो वास्तवमा Innovator  हुन तिनले मात्र यसप्रति जिज्ञासा राख्दछन् र सुरु प्रयोग गर्न चाहन्छन् । तिनीहरूको कामको प्रतिफल स्वीकार गर्नका लागि पनि करिब १३-१४ प्रतिशत मात्र राजी हुन्छन् । अर्थात् सुरुमा कुनै पनि प्रविधिको उपयोगमा वा प्रयोगमा १३-१४ जना मात्र तत्पर हुन्छन् तिनीहरू Early Adopters हुन ।

यसरी अन्वेषक र सुरु प्रयोगकर्ताको उपयोग र लाभलाई हेरेर मात्र अरू जमातले यसलाई पछ्याउँछन् । सुरु प्रयोगकर्ताहरुले फाइदा लिएको वा तिनीहरूलाई हानी नभएको यकिन भए पश्चात् मात्र अरूले चासो दिन्छन् । यो अवस्थामा करिब ५० प्रतिशत जमातले यस नयाँ प्रविधिलाई उपयोग गर्न थालिसकेका हुन्छन् । यसरी नयाँ विषयले प्रविधिले समाजमा स्थान पाउन थाल्दछ ।

परिदृश्य निर्माण / योजना

Scenario construction एउटा प्राविधिक जटिल कार्य हो । यसले आजको अवस्थालाई आधार मानेर भोलिको अवस्थाको आकलन गर्दछ । चित्र कोर्दछ । उपलब्ध भएसम्मका तथ्य प्रमाणहरूको सहारामा सबै सम्भावनाहरूको पूर्ण चित्र capture गर्नु नै वास्तवमा परिदृश्य निर्माण हो । सामान्य निर्णय प्रक्रियामा रहने त्रुटिहरूको क्षतिपूर्ति गर्न यसले मद्दत गर्दछ । कहिलेकाहीँ परिवर्तनलाई कम आकलन गरेर under-prediction हुने (जसलाई हामी Tunnel vision पनि भन्दछौँ) र कहिलेकाहीँ परिवर्तनलाई बढी बुझेर हुने over-prediction का कारणले हुने सम्भावित जोखिमहरूलाई कम गर्न परिदृश्य निर्माण (Scenario Construction) ले ज्यादै महत्त्वपूर्ण भूमिका खेल्दछ । Scenario planning ले contingent planning जस्तो 'what if' भनेर एउटा मात्र uncertainty मा हैन कि यसले various uncertainty explore गर्दछ ।

Traditional planning मा एउटा variable change र अन्य constant राखी खाका तयार गरिन्छ तर scenario planning मा change several variables at a time राखी आकलन गरिन्छ । यसले objective भन्दा beyond गएर subjective interpretation पनि गर्दछ । scenario planning मा हामीले हाम्रो ज्ञानलाई दुई भागमा विभाजन गर्दछौँ - हामी केही जान्दछौँ (we know something) र हामी जान्दैनौँ (unknowable / uncertain) भनेर ।scenario planning ले सम्भावित भविष्यका बारेमा चित्रण गर्दछ तर यसले कुनै विशेष रणनीति निर्देशित भने गर्दैन । यसले भविष्यलाई व्यापकरुपमा देखाउने काम गर्दछ ।

परिदृश्य निर्माणका चरणहरू / प्रक्रियाहरू

परिदृश्य निर्माणका लागि पहिलो चरण भनेको विषय क्षेत्र र समयावधि निर्धारण गर्ने (Define the scope) हो । हामीले कुन विषय क्षेत्रमा कति वर्षसम्मको परिदृश्य निर्माण गर्न लागेको /खोजेको हो यकिन हुनुपर्दछ । यदि हामीले आगामी ३० वर्षको समृद्धिको परिदृश्य चित्रण गर्न खोजेको हो भने हामीले हाम्रो पछिल्लो ३० वर्षको पनि अध्ययन गर्नु जरुरी छ ।

सम्बन्धित राजनैतिक, आर्थिक, सामाजिक, प्राविधिक र कानुनी वातावरणले प्रत्यक्ष असर गर्ने हुनाले तिनको बारेमा जानकारी लिनुपर्दछ । ती प्रवृत्तिबाट उत्पन्न हुनसक्ने अनिश्चितताहरू के हुन सक्दछन् । कुन घटनाले वा कुन प्रतिफल आयो भने के हुन सक्दछ भनेर प्रत्येक अनिश्चितताको (Uncertainty) हुनसक्ने नतिजा पनि पहिचान गर्नुपर्दछ ।

विषय क्षेत्र र समयावधि निर्धारण भइसके पछि त्यो विषयका लागि मुख्य सरोकारवालाहरू को को हुन्  भनेर तिनीहरूको पहिचान गर्नुपर्दछ ( Identify the major stakeholders)। त्यो विषय क्षेत्रमा जसले आफ्नो सरोकार राख्दछ वा जसका कारणले त्यो विषय प्रभावित हुन्छ वा त्यो विषयले तिनलाई प्रभावित तुल्याउँछन् - ती सरोकारवालाहरू हुन । र, तिनको पहिचान गरिसकेपछि तिनीहरूले हाल त्यो विषयमा गरिरहेका कामहरू वा भनौँ निर्वाह गरिरहेका भूमिकाहरू र तिनीहरूको त्यो विषयमा रहेको अधिकार वा क्षमता वा शक्ति पनि पत्ता लगाउनु पर्दछ । ती सरोकारवालाहरू सँग तिनीहरूको भूमिका र शक्तिमा विगत समय देखि कसरी वा कुन गतिमा परिवर्तन आइरहेको छ भनेर पनि जानकारी लिनुपर्दछ । यसबाट परिदृश्य निर्माण गर्न खोजेको विषयका सरोकारवालाहरूको हालको अवस्था र विगत देखि हाल सम्मको Trend पनि थाहा हुन्छ ।

तत्पश्चात्, त्यो विषय सँग सम्बन्धित वातावरणीय प्रवृत्तिहरूको अध्ययन पहिचान ( Identify the basic trends ) गर्नुपर्दछ । जस्तै - त्यो विषय सँग सम्बन्धित राजनैतिक, आर्थिक, सामाजिक, प्राविधिक र कानुनी वातावरणले प्रत्यक्ष असर गर्ने हुनाले तिनको बारेमा जानकारी लिनुपर्दछ । ती प्रवृत्तिबाट उत्पन्न हुनसक्ने अनिश्चितताहरू के हुन सक्दछन् । कुन घटनाले वा कुन प्रतिफल आयो भने के हुन सक्दछ भनेर प्रत्येक अनिश्चितताको (Uncertainty) हुनसक्ने नतिजा पनि पहिचान गर्नुपर्दछ । जस्तै कुनै परीक्षामा पास वा फेल हुन सक्दछ वा कुनै खेलमा जीत वा हार हुन सक्दछ तर हामीलाई अहिले थाहा छैन भोलिको नतिजा । त्यसैले यी दुवै सम्भावनाहरूलाई पहिचान गरी सुचीबद्ध गर्नुपर्दछ । यसबाट सम्भावित सबै परिणामहरूको आकलन गर्न मद्दत गर्दछ ।

यसरी पहिचान भएका Trends र Uncertainty का मद्दतले हामीले प्रारम्भिक चरणको परिदृश्य निर्माण गर्न सक्दछौँ ।

यसरी तयार भएको मस्यौदा परिदृश्यको निखारताका लागि, हामीले आधार लिएको समयावधि (timeframe ) र प्रवृत्ति (trend) बिच तालमेल छ छैन भनेर हेर्नुपर्दछ । तालमेल छैन भने त्यसलाई मिलाउनुपर्दछ । हामीले लिएको Timeframe भन्दा बढीको trend को तथ्याङ्क लिइएको रहेछ भने त्यसलाई हटाउनु पर्दछ । त्यसैगरी, हामीले आकलन गरिएका Outcomes of uncertainty पनि मिलेका छन् छैनन्, हेरेर मिलाउनु पर्दछ । जस्तै: परीक्षाको नतिजा पास वा हार भन्ने लेखिएको रहेछ भने पास वा फेल बनाउने वा जीत वा हार बनाउनु पर्दछ । यसरी मिलाउन नसकिने रहेछन् भने ती अनिश्चितता र नतिजाका बुँदाहरू नै हटाउनुपर्दछ । साथसाथै सरोकारवालाहरूको पहिचान र तिनको शक्ति विश्लेषण गरेको मिलेको छ छैन, हेरेर नमिलेको भए मिलाउनु पर्दछ ।

यसरी  तयार भएको परिदृश्य योजना (Scenario Planning) लाई पढ्न र पहिचान गर्न सक्ने गरी नाम (Title) दिनुपर्दछ । जस्तै तिनीहरूको नामले उच्चारण गर्दा सम्झन र अरूलाई बुझाउन पनि सहज हुने हुन्छ । त्यसै गरी परिदृश्यका तथ्यहरूलाई जोडेर कथा (Making Story) बनाउन सकिन्छ ताकि अन्यलाई बुझाउन सजिलो होस ।

निष्कर्ष

दूरदर्शी नेताले भविष्यको चिन्ता गर्दछ । सुदूर भविष्यको कल्पना गर्दछ । सुदूर भविष्य कस्तो बनाउने भन्ने सोच राख्दछ र त्यसलाई मूर्तरूप दिनका लागि हामीले आजैदेखि के कस्ता प्रयासहरू गर्नुपर्दछ भन्ने आकलन गर्न सिकाउँछ र प्रयत्न गर्दछ । दुरदर्शीता हुनु भनेको वातावरण अनुकुलित नेतृत्व (Adaptive leadership) हो जसले Traditional leadership ले भन्दा वृहत् र समसामयिक तवरले Trend  र scenario को विश्लेषण गरी काम गर्दछ । यसले भोलिको scenario construction / planning गरेर भविष्यको पूर्ण चित्र कोरिदिन्छ।

(लेखक भन्सार विभागका महानिर्देशक हुन् । उनले Australia Awards को Executive Leadership Courseअन्तर्गत Adaptive Leadership Framework मा सहभागी भई प्राप्त ज्ञानलाई यो लेख मार्फत सार्वजनिक गरेका हुन्।)

 

प्रतिक्रिया दिनुहोस