
सिन्धुपाल्चोक । जिल्लाभित्र विकास निर्माणका आयोजना सञ्चालन हुन थालेपछि सिन्धुपाल्चोकका स्थानीय तहले निर्माण सामग्री ढुवानीकर्ताको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने भएका छन् ।
सिन्धुपाल्चोक प्रवेश गर्ने मुख्य नाका बन्देउमा चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा, यात्रु, सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।
सिन्धुपाल्चोकमा सञ्चालन हुने सबै आयोजनामा काभ्रेको बनेपासहित तराईका जिल्लाबाट रड, सिमेन्ट र फलामलगायत सामग्री ढुवानी गरिन्छ । यसरी अन्य जिल्लाबाट आएका मालवाहक सवारीसाधनमा किटनाशक औषधि छर्किएर व्यक्तिको स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश दिइने चौतारा साँगाचोकगढीका नगरप्रमुख अमानसिं तामाङले बताए ।
सोही नाका हुँदै दोलखा र रामेछाप जाने सवारी साधन पनि गुड्ने भएकाले सबै यात्रुको समेत परीक्षण गरेर मात्रै पठाइने प्रमुख तामाङले उल्लेख गरे । लकडाउनको अवधि बढ्दै गएपछि जिल्लामा रोकिएका विकास निर्माणका कार्यलाई निरन्तरता दिने निर्णय गरेसँगै मालवाहक सवारी साधानको आवतजावत बढेको छ ।
गाउँमा अन्य जिल्लाबाट सवारीसाधन आउन थाले पनि स्थानीय त्रसित भएका थिए । त्यसैले जिल्लामा कोरोना भित्रिन नदिन स्थानीयलाई समेत आश्वस्त बनाउन यस्तो काम थालिएको हो ।
प्रतिक्रिया दिनुहोस