
काठमाडौं । चर्को बिबादकाबीच बल्ल तल्ल साइत जुरेको नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।
२४ गते दिउँसो तीन बजे सचिवालय बैठकले थप निक्र्योल गर्ने त्यसको तयारीका लागि सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेद्वार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठले भने ‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’
उनले थप्दै भने, ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’
अर्का अध्यक्ष प्रचण्ड र अरु नेताहरुले पनि आत्मालोचना गरेर अगाडि बढ्ने नेकपाको निर्णय छ । बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ ।
अघिल्लो बैठक भन्दा यो बैठकमा अध्यक्ष पुष्पकमल दाहालको सिट बददै बैठक सञ्चालन भएको थियो । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै दाहालको बस्ने कुर्सी राखिएको थियो ।
अघिल्ला दुई बैठकमा अध्यक्ष दाहाल सचिवलायका अन्य सदस्यतर्फका साइडमा थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बैठक निर्धारित समयभन्दा करिव डेढ घण्टा पछि सरेको थियो ।
गत बुधबार बसेको बैठकमा बहुमत सदस्यले ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेपछि प्रधानमन्त्रीले कोरोना संक्रमण सकिएपछि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।
त्यसपछि नेकपाको विवादले नयाँ मोड लिएको छ । आजको बैठक अघि प्रधानमन्त्री ओलीले गौतम, सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेलसँग छलफल गरेका थिए ।
उनीहरुबीच के छलफल भयो भन्ने कुरा आईसकेको छैन । सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस