
एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र उनकी मंगेतर केरी साइमन्ड्सले आफ्नो छोराको नाम ती दुई चिकित्सकको नाममा राखेका छन् जसले गत महिना बोरिसलाई अस्पतालमा कोरोनाभाइरसविरुद्ध उपचार गरेका थिए ।
उनीहरुले आफ्नो छोराको नाम विल्फ्रेड लरी निकोलस जोनसन राखेका हुन् । केरी साइमन्ड्सले यो जानकारी आफ्नो इन्स्टाग्राम एकाउन्टमा दिएकी छिन् । उनले यो नाम आफ्नो हजुराबा र अस्पतालमा बोरिसको उपचार गर्ने चिकित्सकको सम्मानका लागि राखेको बताएकी छिन् ।
उनले युनिभर्सिटी कलेज लन्डन अस्पतालका कर्मचारीलाई धन्यवाद दिँदै लेखेकी पनि छिन्, ‘म योभन्दा बढी खुसी हुन सक्दिनँ, मेरो मन भरिएको छ ।’ उनले छोराको पहिलो नाम प्रधानमन्त्री बोरिसको हजुरबा, दोस्रो नाम स्वयं उनको हजुरबाको नामबाट राखिएको पनि बताएकी छिन् । त्यसपछि उनको दोस्रो नाम निकोलस डा निक प्राइस र डा निक हार्टको नामबाट राखेको बताएकी छिन् ।
यी दुईले बोरिसको गत महिना अस्पतालमा उपचार गरेका थिए । यसले प्रधानमन्त्री बोरिसको अवस्था त्यति बेला निकै गम्भीर भएको पुष्टि गर्ने बेलायती सन्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस