
काठमाडौँ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार अपराह्न बसेको सचिवालय बैठकले सत्तारुढ दल नेकपाको विवाद समाधान गर्ने र पार्टी एकताको पक्षमा दृढ रहने संकल्प गरेको छ । विवादको केन्द्रमा रहेको प्रधानमन्त्री र पार्टीअध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने विषयले शनिबारको बैठकमा प्रवेश नै पाएन ।
नेकपा स्रोतका अनुसार ओली र प्रचण्ड नै एउटा निष्कर्षमा पुगेपछि सचिवालयका अरु सदस्यहरुले खासै धेरै बोलेनन् । त्यसमा पनि गौतम आफू प्रतिनिधिसभामा आउने कुरा आएपछि चुप लागे ।
सो बैठकमा नेताहरूबीच शक्ति बाँडफाँडका बिषयमा पनि छलफल भएको थियो । अब २५ वैशाख गते स्थायी समिति बैठक बोलाउने सहमति पनि भएको छ ।
बैठकको सुरुमै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टी र सरकार सञ्चालनका क्रममा अहिलेसम्मका कमजोरीबारे आत्मालोचना गर्दै यस्तै जिम्मेवारी स्विकार्न अन्य नेताहरूलाई पनि आग्रह गरेका थिए । ओलीको भनाइ थियो, ‘अहिलेसम्म जे–जे भयो–भयो, पार्टी नै विभाजन हुन्छ कि भन्ने अवस्था पनि आयो । तर, अब सबै तितोपिरो भुलौँ, मिलेर जाऊँ । हामीसँग विकल्प पनि छैन । सरकार र पार्टी सञ्चालनका विषयमा मेरा पनि कमजोरी भएका छन् । ती कमजोरीका लागि म आत्मालोचना गर्छु । प्रचण्ड कमरेड र अरू कमरेडले पनि आ–आफ्नो भूमिकाअनुसारको जिम्मेवारी लिनुहुन्छ ।’
स्रोत भन्छ, लगत्तै बोलेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीको प्रस्तावलाई समर्थन गर्दै आफ्नोतर्फबाट भएका कमजोरीका लागि आत्मालोचना गरेका थिए । ‘म प्रधानमन्त्रीको मिलेर जाऊँ भन्ने प्रस्तावको समर्थन गर्छु । पार्टी विभाजनतिर जान दिनुहुँदैन भनेर सबैले कोसिस गरेका छौँ । मेरोतर्फबाट कमजोरी भए त्यसलाई स्वीकार गर्छु,’ उनको भनाइ थियो, ‘अब यही स्पिरिटलाई आत्मासात् गरेर स्थायी कमिटी बैठक डाकौँ । साथीहरूले पत्र नै लेख्नुभएको छ । बाँकी काम त्यही बैठकबाट टुंग्याउँला ।’
बैठकमा प्रचण्डको कुर्सी सारिएको विषयमा टिप्पणी गर्दै वरिष्ठ नेता माधव नेपालले पार्टी विभाजनका लागि होइन, पद्धतिको पक्षमा आफूले आवाज उठाएको दोहोर्याएका थिए । उनले बोल्ने क्रममा भने, ‘तपाईंहरूको कुर्सी कहिले तल आउँछ, कहिले माथि जान्छ । बुझ्नै गाह्रो छ ।’ उनले अगाडी थपे,‘मैले विभाजनको कुरा गरेको होइन, विधि, पद्धतिका लागि आवाज उठाएको हो । कार्यशैलीमा प्रश्न गरेको हो ।’
यसअघिको सचिवालय बैठकमा कहाँ र कसरी बसिएको छ भन्नेमा फरक पर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डले गुनासो गरेका थिए ।
बामदेब गौतमलाई आश्वस्त बनाउनका लागि ओलीले शनिबार दिउँसो नै बालुवाटारमा बोलाएका थिए । लामो समय गौतमसँग छलफल गरेका ओलीले बालुवाटारमा सचिवालय बैठक बस्नुअघि नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पनि कम्तिमा पनि ४० मिनेट कुराकानी गरे । प्रचण्डको गुनासो ओलीले शनिबार भएको अलग्गै भेटमा सम्बोधन गरेको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस