
उदयपुर । उदयपुर घर भएकै कारण उपचार गर्न नमान्ने विराटनगरको नोबेल अस्पताललाई कारबाही गर्न माग गरिएको छ ।आइतबार बिहान पत्रकार सम्मेलन गर्दै प्रदेश सभा सदस्य विमल कार्की, नारायण बुर्जा मगर र त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले उदयपुरको त्रियुगा नगरपालिका वडा नं ११ की २९ वर्षिया सरस्वती रौनियारलाई उदयपुर घर भएकै कारण उपचार गर्न नमानेको घटनाको छानबिन गरी नोबेल अस्पताललाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा नगर प्रमुख बलदेव चौधरीले भने, “जुनसुकै किसिमको अवस्थामा पनि स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक र संविधान प्रदत्त अधिकार हो । यस्तो महामारीको बेलामा नोबेल अस्पतालले उदयपुरबासीविरुद्ध घृणा फैलाएको हुँदा कडा भन्दा कडा कारबाही हुनुपर्छ ।” उपचारको बदला उदयपुरबासी भएकै कारणले जुन घृणा नोबेल अस्पतालका सञ्चालक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले फैलाउने दुष्प्रयास गरेको उनले बताए ।
साथै, मेयर चौधरीले नोबेल अस्पतालको विज्ञापन हुने प्रवर्द्धनात्मक कार्यक्रमहरू एक वर्षका लागि निषेध गर्नुका साथै विपद्काबेला उपचार गर्न नमान्ने सो अस्पतालमा बिरामी नलैजान सम्पूर्ण स्थानीय सरकार, सबै खाले अन्य स्वास्थ्य सस्थाहरु र सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन् ।
नोबेलमा भर्ना गरिएकी रौनियारको प्रसूतिको लागि आवश्यक सबै प्रक्रिया पुरा गरेपछि अप्रेसन थिएटरमा लगिएकोमा चिकित्सकले बिरामीको ठेगाना उदयपुर देखेपछि शल्यक्रिया कक्षबाटै बुधवार बिहान बाहिर निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस