aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नाकाबन्दीले कतार दुइ वर्षमै बलियो, नेपालीले भने विर्सदै गयो

नाकाबन्दीले कतार दुइ वर्षमै बलियो, नेपालीले भने विर्सदै गयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ जेठ २०७६
नाकाबन्दीले कतार दुइ वर्षमै बलियो, नेपालीले भने विर्सदै गयो

काठमाडौं ।  कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो। छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स ९यूएई० ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार। २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो। तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन। ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौं। ’

नाकाबन्दीले ठूलो पाठ सिकाएको र त्यसबाट कतार बाहिर निस्केको निष्कर्ष कतारको दरबारले निकालेको छ। ‘दुई वर्षमा कतारले आफूलाई अझ बलियो, सशक्त र परिष्कृत गरेको छ’, नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अरहैलले भने, ‘नाकाबन्दीले हामीलाई बलियो मात्र बनाएन पाठसमेत सिकाएको छ। हाम्रा नागरिकले नाकाबन्दी भुलिसके। तर मित्र मुलुकले जे गरे त्यो मानवीयता भने होइन। ’ बाँच्न पाउने अधिकार कुण्ठित गर्ने निर्णय लिनु आफंैमा दुर्भाग्यपूर्ण रहेको निष्कर्ष कतारको छ।

‘हामीले त बिर्सिसकेका छौं। तर अन्तर्राष्ट्रिय मञ्चमा यो विषय उठाउन छाडेका छैनौं,’ उनले भने, ‘राष्ट्रसंघदेखि धेरै ठाउँमा यो विषय उठाएका छौं। ’ सन् २०२२ मा फिफा विश्वकपका लागि अग्रसर कतारले कुनै काम रोकेको छैन। कतार अहिले भौतिक संरचना निर्माणमा वैदेशिक लगानीका लागि सुरक्षित वातावरण दिन जुटेको छ। हवाई उडान घटाएको छैन भने ठूला पानीजहाज नआउने ठाउँमा साना पोर्ट बनाएर काम चलाइरहेको छ।

नाकाबन्दीले कतार दिनानुदिन अझ बलियो र आत्मनिर्भर बन्दै गएको छ। ‘हामी कतारी काम नै नगरि बस्दा पनि पुग्ने समुदायमा पर्छौं। यो छिपेको छैन,’ कतारी राजाकी बहिनी शेख हिन्दले ‘द गार्डियन’सँग भनेकी थिइन्, ‘नाकाबन्दीले मुलुकभरि आत्मनिर्भर बन्ने दृढता र राष्ट्र प्रेमको लहर देखियो। जुन साँच्चै लोभलाग्दो छ। ’ यो धारणा कतारका अन्य उच्च अधिकारीबाट पनि आइरहेको छ। यसबाट कतार २ वर्षमा साँच्चै आत्मनिर्भर मात्र होइन उत्पादन गरेर विदेश निर्यात गर्नेमा दरिन थालेको छ।

नाकाबन्दीपछि कतारको मानव अधिकार समितिसँग न्याय मागिरहेका हजारौं मुद्दा सम्बोधन गर्दै अघि बढेको राजदूतको धारणा छ। नाकाबन्दी लगाउने ४ देशमा रहेका ११ हजार ३ सय ८७ कतारी परिवार यसबाट प्रत्यक्ष प्रभावित छन्। काम गर्न पाउने र अन्य अधिकारबाहेक ६ हजार ४ सय ७४ मुद्दा पारिवारिक मेलमिलापविरुद्धका भएको तथ्यांक मानव अधिकार संगठन कतारसँग रहेको जानकारी दिएको छ। अन्नपूर्ण पोस्टबाट । 

प्रतिक्रिया दिनुहोस