
नेपालगञ्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने प्रश्न धेरैमा जन्मिएको छ। त्यससँगै यो गति अब झन् बढ्ने त होइन भन्ने आशङ्का पनि थपिएको छ।
स्वास्थ्य अधिकारीहरूले सङ्क्रमितहरू थाहा पाएर वा नपाएर लुकेर बसेको र सङ्क्रमितमा हालसम्म लक्षण पनि नदेखिएकाले पहिचान गर्न मुस्किल भएको अनुभव सुनाएका छन्।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा प्रकाश थापाले शङ्काको आधारमा परीक्षणको दायरा बढाउँदै जाँदा पछिल्ला सङ्क्रमित फेला परेको जानकारी दिए। उनका अनुसार बाँकेमा नमुना परीक्षण गर्न ढिलो हुँदा एक्कासी धेरै सङ्क्रमित देखिएका हुन्।
नेपालगञ्जमा गत शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परीक्षण गर्न सजिलो भएको थापाको भनाइ छ।
उनले भने, ‘पुराना सङ्क्रमितको समयमै पहिचान हुन नसक्दा नेपालगञ्जमा सङ्क्रमितहरू ह्वात्तै बढेको देखिएको हो, परीक्षणको दायरा बढाउँदै जाँदा अझै धेरै पत्ता लाग्न सक्छन्।
लकडाउनको पालना
सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाउँदै उनले नआत्तिन आग्रह गरे। नेपालगञ्जवासीले लकडाउनको पूर्ण पालना नगर्दा सङ्क्रमित एक्कासी बढेको कतिपयको भनाइ छ।
प्रशासनले लकडाउनको पालना गराउन अनेक प्रयास गरे पनि स्थानीय बासिन्दाले नटेरेका कारण नेपालगञ्जमा मानिसको चहलपहल बढी देखिएको नेपालगञ्ज उप-महानगरपालीकाकी उप-मेयर उमा थापाको भनाइ छ।
उनले भनिन्, "सबैले लकडाउनको पालना गरेको भए सङ्क्रमित व्यक्ति घर-घरमा पढाउन जाने थिएनन् र अहिले यो स्थिति आउने थिएन।" वैशाख ७ गतेदेखि भेरी अस्पतालमा पीसीआर मेसिन सञ्चालनमा आएपछि परीक्षणको दायरा बढाइएको थियो।
एक दिनमा बिहान ८ बजेदेखि राती १२ बजेसम्म एक सयवटा नमुना परीक्षण गर्न सकिने भए पनि जनशक्ति अभावमा पूर्ण क्षमताअनुसार परिक्षण गर्न नसकिएको डा. थापाले बताए।
दिल्ली-नाताको खोजी
भारतको राजधानी दिल्लीस्थित तबलीगी जमाती समूहको कार्यक्रममा सहभागी भएर नेपालगञ्ज फर्किएका तीन जनाको पहिचान भएपछि विभिन्न धर्मगुरुहरूको पनि परीक्षण गरिएको एकजना धर्मगुरू मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए। त्यसै क्रममा शुक्रवार पहिलो सङ्क्रमण पुष्टि भएको हो।
"लकडाउन अघि नै नेपालगञ्जका सबै धर्मका अगुवाहरू एकजुट भएर धार्मिक स्थलहरूमा भीडभाड कम गरेका छौँ," मौलाना मन्जरीले भने, "यति गर्दागर्दै पनि नेपालगञ्जमा एक्कासी सङ्क्रमण फैलिएकाले अब झन् सचेत हुनुपर्छ।"
रमजान पर्व चलिरहँदा नेपालगञ्जका मुस्लिम समुदाय आ-आफ्नै घरमा नमाज पढिरहेको भए पनि शुक्रवार अर्थात् जुमाको दिन उक्त धर्मको नियमअनुसार सामूहिक नमाज पढ्नुपर्ने भएकाले बढीमा चारजना जम्मा भएर नमाज पढ्दै आएको उनले बताए।
कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरू आफै स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा प्रशासनले खोज्नुपर्ने अवस्था रहेको अधिकारीहरूको गुनासो छ।
"यो समस्या देशभरि नै छ," बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, "जबसम्म त्यस्ता व्यक्तिहरू आफैँ सम्पर्कमा आउँदैनन् तबसम्म सङ्क्रमित पत्ता लगाउन समस्या हुन्छ।"
नयाँ सङ्क्रमित को हुन्?
नयाँ सङ्क्रमित १५ जनालाई आइतवार राति कोरोना विशेष अस्पताल खजुरामा उपचारको लागि भर्ना गरिएको बताइएको छ।सातजना महिला रहेको जनाउँदै जिल्ला स्वास्थ्य कार्यालयले एक सात वर्षीया बालिका पनि सङ्क्रमित रहेको बताएको छ।
सबै नयाँ सङ्क्रमित पहिलो पटक पुष्टि भएका ६० वर्षीय सङ्क्रमितसँग सम्पर्कमा रहेका छन्। उनीहरू नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ स्थित मदरसा आसपासका बासिन्दा भएको अधिकारीहरूले जनाएका छन्। ती व्यक्ति दैनिक नमाजको अजान गर्न नेपालगञ्जको महेन्द्र पार्कस्थित धार्मिक स्थलमा पुग्ने गरेको बताइएको छ। उनी भारतबाट नेपाल फर्किएको स्थानीय बासिन्दाले बताएका छन्।
डा. प्रकाश थापाले शनिवार नमुना सङ्कलन गरिएका ६० जनाको मात्र नतिजा आएको र ३० जनाको नतिजा आउन बाँकी रहेको जानकारी दिए। उनले आइतवार थप १५ जनाको स्वाब सङ्कलन गरिएको बताए। बीबीसी
प्रतिक्रिया दिनुहोस