aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

राजश्व हाम्रै कारण कम सङ्कलन भएको हो : अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ बैशाख २०७७
राजश्व हाम्रै कारण कम सङ्कलन भएको हो : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार कै नीतिका कारण राजश्व सङ्कलनमा कमी आएको बताएका छन् । सोमबार संसद्को अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो स्वीकार गरेका हुन् ।

बजेट खर्च गर्न समेत सरकार सुरु देखि नै असफल रहेको पनि उनले बताएका छन् । यसरी खर्च गर्न नसक्दा  विभिन्न मन्त्रालयहरूबाट चैत्र  मसान्त सम्ममा २० अर्व बजेट सरेन्डर गरेको पनि डा. खतिवडाले जानकारी दिए । 

उनले कोरोना राहत कोषमा दुई अर्व २० करोड हालसम्म जम्मा भएको बताए छ । स्थानीय तह र प्रदेशमा राहत सम्बन्धी काममा त्यो खर्च भइरहेको उनले जानकारी दिए । 

आर्थिक वर्षको सुरु देखि नै राजश्व सङ्कलनको दबाबमा रहेको बताउँदै उनले त्यो आफूले नै सिर्जना गरेको समस्या भएको स्वीकारेका छन् । आयात प्रतिस्थापन गर्ने नीति अन्तर्गत अनावश्यक र विलासी वस्तुमा भन्सारको दर बढाएको कारण त्यस्तो स्थिति आएको उनले बताए । उनले थपे, ‘मूल्य अभिबृदी कर र अन्तःशुल्क समेतमा कमी आउँदा राजश्व सङ्कलनमा ठुलो दबाब छ ।’

अहिले लकडाउनको अवस्थामा भन्सार राजश्व लक्ष्यको एक चौथाइ मात्र उठ्ने गरेको उनले बताए । चैत्रसम्मको अवस्था हेर्दा राजश्व लक्ष्यको ८० प्रतिशत उठेको देखिएको उनले जानकारी दिए । 
सरकारले अन्तर्राष्ट्रिय सहायता परिचालनमा बढी जोड दिएको उनले बताए । ‘त्यसमा उल्लेख्य प्रतिबद्धता प्राप्त भएको छ’, उनले भने । करिब डेढ खर्व रुपैयाँ कोरोना सँग सम्बन्धित स्वास्थ्य पूर्वाधार, स्वास्थ्य सेवा, राहत र आर्थिक उत्थानको लागि समेत भनेर सम्झौताको तहमा रहेको उनले बताए । 
राजश्व सङ्कलनमा भएको कमी यसले पूर्ति गर्ने गरी बजेट परिचालनको योजना भएको अर्थमन्त्रीले जानकारी दिए । 

राजश्व सङ्कलनमा झैँ खर्च गर्ने कुरामा पनि चालु आर्थिक वर्षको सुरु देखि नै कमजोरी भएको समेत अर्थमन्त्रीले बताए । खर्च कम हुनुमा करोना मात्र कारक नरहेको उनको भनाइ थियो । तथापि चैत्र मसान्त सम्ममा चालु तर्फ ४८८ अर्व खर्च भएको उनले बताए । यो वार्षिक लक्ष्यको ५१ प्रतिशत मात्र हो । त्यसै गरी पुँजीगत तर्फ १०५ अर्व खर्च भएको समेत उनले जानकारी दिए । यो वार्षिक अनुमानको २६ प्रतिशत मात्रै हो । 
 

प्रतिक्रिया दिनुहोस