aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
सवारी साधान

सीडीओ कार्यालयमा पास माग्नेको चापः पोखरी निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनासम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ बैशाख २०७७
सीडीओ कार्यालयमा पास माग्नेको चापः पोखरी निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनासम्म

काठमाडौं । पछिल्लो समय जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सवारी साधन पास लिनेको चाप बढेको छ । विभिन्न सरकारी तथा अर्ध सरकारी निकायलाई आफू मातहतका कार्यालयलाई आफैले पास उपलब्ध गराउन सहमति दिएपनि कार्यालयमा पास लिन आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

सवारी साधान सञ्चालन गर्न ई–पास लिनेदेखि कार्यालय मै पुगेर पास लिनेसम्मको चाप बढेको कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले बताए । ‘सरकारले राष्ट्रिय गौरव तथा अन्य रणनीतिक आयोजना निर्माणका लागि ढुवानीको व्यवस्थापन मिलाउन पास दिने निर्णय गरेसँगै सवारी साधान सञ्चालन गर्न अनुमति माग्नेको संख्या बढ्दै गएको छ,’ उनले भने ‘काठमाडौं जिल्लाको नौ ओटै नगरपालिकादेखि काठमाडौं महानगरपालिकासम्मका वडा कार्यालयबाट क्लब भवन, पोखरी निर्माणका लागि सामग्री ल्याउने ढुवानी साधनको पासको माग भएको छ ।’

सानादेखि ठूला आयोजना समेतबाट व्यापक माग आएको सीडीओ दाहालले बताए । ‘टिपरदेखि ढुवानी सवारी साधन तथा काम गर्ने मजदुर लान ल्याउनसम्मका माग आएको छ,’ उनले थपे ‘हामीले उहाँहरूलाई सहजीकरण गरिरहेका छौं । सुरुङमार्ग, फाष्ट ट्रयाक, मेलम्ची आयोजनासम्मका माग आएको छ । व्यक्तिगत घर निर्माणका लागि पास माग्ने पनि धेरै छन् । बजेट फ्रिज हुने भयो पास मिलाइ दिनु पर्यो भनेर पास लिन आइरहनु भएको छ ।

 यद्यपि कार्यालयको प्राथमिकतामा भने पूर्वाधार निर्माणमा पनि राष्ट्रिय गौरवका आयोजना परेको छ । कार्यालयले व्यक्तिगत पास भने उसको आवश्यकता हेरर पास उपलब्ध गराउने गरेको छ । हालसम्म कार्यालयमा करिब दुई हजार दुई सय ई–पास र करिब एक हजार दुई सय म्यानुयल पास वितरण गरिसकेको छ । ई–सेवाबाट सवारी साधन पास माग्ने करिब एक हजार जनालाई कार्यालयले पास उपलब्ध गराइ सकेको छ । जिल्ला प्रशासन कार्यालय कोरोना भाइरस संक्रमण संक्रमणको जोखिमबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न बन्दाबन्दी अवधिभर अत्यावश्यक कार्यका लागि सवारीसाधनलाई पास वितरण गर्दै आएको थियो ।

एम्बुलेन्स औषधि तथा औषधिजन्य वस्तु बोकेका सवारी तथा डाक्टर, नर्स, पत्रकार र कर्मचारी चढ्ने सवारीले पास लिनु नपर्ने व्यवस्था गरेको छ । खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्यांकरका साथै फोहोर बोक्ने सवारीले पनि निर्वाध रुपमा चल्दै आएका छन् ।

तर, यस्ता सवारीमा यात्रु ओसार्न भने पाइने छैन । व्यक्तिगत समस्या, परिवार, बिरामी, भेटघाट, काम विशेष जस्ता विषयलाई लिएर सवारी पास नपाउने व्यवस्था कार्यालले गरेको छ । तत्काल पर्ने आकस्मिक मानवीय अवस्था, गम्भीर बिरामी अस्पताल जानुपर्ने अवस्था जस्ता परिस्थितिमा नजिकको सुरक्षा इकाइसँग आवश्यक समन्वय गरेर भने जान सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस