
काठमाडौं । लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारले स्पष्ट निर्णय गर्न नसकिरहेका बेला कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले लकडाउन थप ७ देखि १० दिनका लागि थप्ने निर्णय गरेको छ । यसबारे अन्तिम निर्णय मन्त्रिपरिषद् बैठकले बुधबार अपराह्न गर्ने छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको समितिको बैठकले लकडाउन ७ देखि १० दिनसम्म थप्ने निर्णय गरे पनि ठ्याक्कै यति दिन भन्नेबारे जिम्मा भने मन्त्रिपरिषद्लाई दिएको हो ।
मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद बिडारीले बैठकपछि सञ्चारकर्मीमाझ भने- सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको छ । यसबारे थप निर्णय भोलि अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने छ ।
बैठकमा छलफल भएको विषयबारे जानकारी दिँदै सचिव विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए ।
उनले भने, ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’
कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि सुरु भएको देशब्यापी लकडाउनको पछिल्लो म्याद बैशाख २५ गते सकिँदै छ। सचिव बिडारीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिले गरिरहेका कामहरु ठिक भएको निष्कर्ष निकालेको बताए ।
प्रतिक्रिया दिनुहोस