aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

'लकडाउन' थप्न मन्त्रीपरिषद बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ बैशाख २०७७
'लकडाउन' थप्न मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई ७ देखि १० दिनसम्म निरन्तरता दिन सरकारलाई सुझाव दिएपछि आवश्यक निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बसेको समितिको बैठकले लकडाउनलाई निरन्तरता दिन सुझाव दिइए पनि कति दिन लम्ब्याइने भन्नेबारे अन्तिम निर्णय आज बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिए ।

समितिका सदस्य सचिव समेत रहेका विडारीले बैठकपछि भने, ‘सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको छ । यसबारे थप निर्णय बुधबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।’

बैठकमा छलफल भएको विषयबारे जानकारी दिँदै सचिव विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताए ।

उनले भने, ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ । लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ । यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।’

सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन जारी छ । पछिल्लो पटक थपिएको लकडाउनको समयावधि बिहीबार मध्यरातिदेखि सकिँदैछ । यसअघि सोमबार बसेको समितिको बैठकमा जनजीवन कसरी सामान्य बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगिसकेको छ ।  

प्रतिक्रिया दिनुहोस