
भक्तपुर । उपत्यका प्रवेश गर्ने भक्तपुरको पूर्वी नाका जगातीमा सवारी साधन प्रवेशमा रोक लगाएको छ ।
पूर्वी तथा तराइका विभिन्न जिल्लामा कोरोना संक्रमणको संख्या बढेपछि उपत्यका आउनेकाे लहर बढेको छ । उपत्यका सुरक्षित रहेको हल्लासँगै प्रवेश गर्नेको संख्या बढ्ने देखिएपछि सवारी आवागमनमा रोक लगाइएको हो ।
लकडाउनको समयमै भक्तपुरबाट बाहिर जानेहरुलाई पास उपलब्धतामा केही खुकुलो गरेको थियो । हाल भने प्रशासनले हरेक स्थानीय तहको सिफारिसबिना पास उपलब्धतामा रोक लगाएको जिल्ला प्रशासन कार्यालय, भक्तपुरका सहायक प्रजिअ दिलिप प्रसाद लामिछानेले जानकारी दिए ।
अरनिको राजमार्गअन्तर्गत भक्तपुर नाका भएर उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ गरेको भक्तपुर प्रहरी परिसका प्रमुख सविन प्रधानले जानारी दिए । काभ्रे जिल्लाबाट उपत्काभित्र अतिआवश्यक तरकारी, दुध, खाद्यान्न, अस्पताल र सरकारले तोकेका कर्मचारीबाहेक अन्यलाई प्रवेशमा रोक लगाएको प्रधानले बताए ।
पूर्वका विभिन्न जिल्लासँग समन्वय गरी अरनिको राजमार्ग र बीपी राजमार्ग, सिन्धुली-बर्दिवास भएर आउने सवारी साधनलाई उनीहरुकै नाकाबाटै फिर्ता गरिएको प्रधानले जानकारी दिए । आउने र जाने जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी पास उपलब्ध गराएका बाहेक अन्य सवारी साधन भक्तपुर नाका भएर प्रवेश गर्न नपाउने उनले बताए ।
हाल यो नाका भएर दैनिक उपत्यका प्रवेश गर्ने सवारी साधन न्यूनतम पाँच सयको हाराहारीमा रहेका छन् । यसरी प्रवेश गर्ने सवारी साधनमध्ये दैनिक उपभोग्य सामानका साधन र स्वास्थ्यसँग सम्बन्धित तथा उपत्यकामा काम गर्ने सरकारले छुट दिएका सवारी साधन रहेको पनि उहाँले जानकारी दिए ।
यो नाका भएर प्रवेश गरेका हरेक ब्यक्तिहरुको व्यक्तिगत विवरण समेत राखिएको र भोलिको दिनमा कुनै ब्यक्तिमा संक्रमण देखा परे उनीहरुको पूर्ण जानकारीका लागि सबै विवरण राखी उपत्यकाका तीनै प्रशासनसँग समन्वय गरिरहेको पनि उनले बताए ।
अत्यावश्यक सवारी साधनमा भने यो नाका भएर प्रवेश गर्न रोक लगाइएको छैन । तर उपत्यका र उपत्यकाबाहिर दुवै स्थानमा घर भएकाहरुलाई हाल जहाँ बसेको छ उतै बस्ने गरी प्रवेशमा रोक लगाइएको प्रधानले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस