
नयाँ दिल्ली । पश्चिम बंगालमा १० घण्टाको अवधिमा एक सय करोड रुपैयाँभन्दा बढीको मदिरा बिक्री भएको छ । बीबीसीले जनाए अनुसार लकडाउनभन्दा अगाडि उक्त राज्यमा औसत रूपमा दैनिक ४० देखि ४५ करोड रुपैयाँ बराबरको मदिरा खरिद बिक्री हुने गरेको थियो । पश्चिम बंगालमा मंगलबार ६५ करोडभन्दा बढीको मदिरा बिक्री भएको छ ।
राज्य सरकारले मदिरा पसलहरू दिउँसो १२ बजेबाट बेलुकी ७ बजेसम्म खोल्न दिने अनुमति दिएको छ । सोमबार राज्य सरकारका तर्फबाट स्पष्ट निर्देशन नभएका कारण केबल तीन घण्टामात्रै मदिरा पसलहरू खुलेका थिए ।
कोरोना भाइरससँग जुध्नका लागि रकम जुटाउन राज्य सरकारले मदिरामा ३० प्रतिशत अतिरिक्त कर लगाएको छ । पश्चिम बंगाल सरकारले दुई दिनमा मदिरा बिक्रीबाट राम्रो राजस्व संकलन गरेको छ । मदिराको बिक्रीबाट सरकारले ६० करोड राजस्व संकलन गरेको बीबीसीले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस