
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ। शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।
पिसिआर विधिबाट सांसदहरुको कोरोना संक्रमण परीक्षण गरिने छ। त्यसका लागि बिहीबार बिहान १० बजेदेखि सुरु भएको स्वाब संकलन दिउँसो २ बजेसम्म चल्ने छ। अहिले राष्ट्रियसभा सदस्यको स्वाब संकलन चलिरहेको छ। ११ बजेपछि प्रतिनिधिसभा सदस्यको चल्नेछ। स्वाब संकलन संघीय संसद भवन परिसर बानेश्वरमा चलिरहेको छ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयले स्वीकार गरेपछि सचिवालयमा भएका चिकित्सकहरुका अतिरिक्त समेत थप गरेर कोरोना परीक्षणको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस