aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छ हजार ट्याक्सीको मिटर भाडा समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ जेठ २०७६
छ हजार ट्याक्सीको मिटर भाडा समायोजन

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले छ हजार ८७ ट्याक्सीको मिटर भाडा समायोजन गरेको छ । विभागले वि.सं. २०७५ असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उपत्यकामा सञ्चालित हरेक ट्याक्सीमा बढेको भाडा समायोजन गरिँदै आएको जानकारी दिए । ‘मिटर र प्रिन्टर मेशिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ’, उनी भन्छन् । 

विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि सुरुमा १४ र एक किलोमिटर गुडिसकेपछि रु. ५० उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि शुरुमा रु. १५ र एक किलोमिटर गुडेपछि रु. ५३ उठ्नेछ । 

यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेशिनसमेत जडान गरिसकेको छ । सरकारले ट्याक्सीमा भाडा समायोजन गरेपछि केही ट्याक्सी चालक भने अझै पनि मिटरमा जान मान्दैनन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले वि.सं. २०७५ मङ्सिरदेखि हालसम्म मिटरमा जान नमान्ने तीन हजार ट्याक्सीलाई कारवाही गरेको छ । महाशाखाका प्रमुख वसन्तकुमार पन्त ट्राफिक प्रहरीमा ट्याक्सी चालक मिटरमा जान नमान्ने उजुरीका आधारमा कारवाही गर्दै आएको बताउँछन् । महाशाखाले दैनिक ४० ट्राफिक प्रहरीलाई सादा पोशाकमा खटाउँदै आएको छ । 

नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत पुगेको बताउँछन् ।  ‘समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ’, उनी भन्छन् । 

प्रतिक्रिया दिनुहोस