
काठमाडौँ । नयाँ वर्ष चलचित्र क्षेत्रको व्यापार हुने समय हो । तर, देश डेढ महिनादेखि बन्दाबन्दीको अवस्था छ । यसकारण न चलचित्र रिलिज भए, न त हल नै चले ।
सामान्य अवस्थामा भएको घाटा नयाँ वर्ष, दसैँ, तिहार जस्ता अवसरमा चलचित्र चलाएर खर्च जोह गर्ने गरेको थियो, यो क्षेत्रले । तर, अब स्थिति बिल्कुलै फरक छ । विश्वका अन्य मुलुकमा झैँ नेपालमा पनि चलचित्र उद्योग कस्तो हुने हो भन्ने आन्योलता कायमै छ ।
बन्दाबन्दी घोषणा हुनुभन्दा केही दिन अघिदेखि नै चलचित्रसम्बन्धी सबै गतिविधि ठप्प थिए । यसरी हेर्दा चैत महिना पुरै नै सिनेमा घरहरू बन्द रहे । अहिले वैशाख सकिंदैछ । त्यस यताका करिब दुई महिनाको अवधि चलचित्र क्षेत्रको अर्बौ लगानी कोमामा रहेको छ ।
नेपालको चलचित्र क्षेत्र भर्खरै उद्योगका रूपमा रूपान्तरित हुँदै थियो । नेपालका सबै प्रदेशमा सुविधा सम्पन्न मल्टिप्लेक्स हलहरूको निर्माण क्रम बढेको थियो । कोरोनाका कारण जारी लकडाउनले यी मल्टिप्लेक्सहरुमा गरिएको ठुलो लगानी सङ्कटमा परेको छ । केही महिना अघि मात्रै रिगल सिनेमाले ५५ करोडमा विराटनगर, भक्तपुर र नेपालगन्जमा मल्टिप्लेक्स हलहरू सञ्चालनमा ल्याएको थियो । त्यो अहिले सुरु नहुँदै सङ्कटमा परेको छ । रिगल सिनेमाका सञ्चालक नकिम उद्धिन ‘लगानी गरेको केही महिनापछि नै लगानी नै सङ्कटमा परेको’ बताउँछन् । उनी भन्छन्, ‘देशैभरी मल्टिप्लेक्समा चलचित्र देखाउने उद्देश्यले लगानी गरेका थियौँ तर, सञ्चालन नै नभई बन्द भए।’
अहिले करिब दुई सयवटा विभिन्न स्तरका सिनेमा हल सञ्चालनमा छन् । सिङ्गल र मल्टिप्लेक्स हलको सङ्ख्या ६० र ४० प्रतिशतको अनुपातमा रहेको छ । काठमाडौँ उपत्यकाभित्रका सिङ्गल हलहरू बिस्तारै अपग्रेड गर्ने चरणमा रहेका थिए । उपत्यकाभित्र सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय फ्रन्चाइजी क्यूएफएक्स अन्तरगतका सबै हलहरू पुनर्संरचना गरिरहेको क्यूएफएक्स सिनेमाका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए ।
एउटा मल्टिप्लेक्स हल निर्माणका लागि १२ देखि १५ करोडौँ रुपैयाँ हल सञ्चालकले लगानी गरिरहेका छन् । सम्पूर्ण हल बन्द हुँदा यो क्षेत्रमा अर्बौ रकम डुब्ने देखिन्छ ।
क्यूएफएक्स सिनेमाका प्रमुख कार्यकारी अधिकृत अडिगाका अनुसार चलचित्रको सिजनको बेलामा दैनिक १२ देखि १५ लाखसम्म आम्दानी हुने गर्छ । कुन चलचित्र रिलिज भइरहेको छ भन्ने विषयले पनि आम्दानी निर्धारण गर्ने उनको भनाई छ ।
एकै दिनमा १२ हजार जनालाई सात स्क्रिन र ४ सो मार्फत चलचित्र देखाइरहेको गोपीकृष्ण मुभिजले नयाँ वर्ष अवसर पछि अझ लगानी थप्ने सोच बनाएको थियो । गोपीकृष्ण मुभीका सञ्चालक निरक पौडेलका अनुसार उनले सिजन सकिने बित्तिकै सम्पूर्ण रूपमा डिजिटल बनाउने योजना अनुसार काम थालिसकेका थिए ।
‘डिजिटल बनाउनका लागि आवश्यक पर्ने लगानी र प्रविधि समेत तयार भइसकेको थियो’, उनले थपे, ‘नेपालीलाई चलचित्र हलसम्म ल्याउनका लागि सुविधा सम्पन्न प्रविधि दिन गोपीकृष्ण तयारी गर्दै थियो तर, अकल्पनीय महामरले भताभुङ्ग बनायो ।’ तर पनि उनी आफू निराश भने नभएको बताउँछन् । नेपालीमा समेत विकास भइसकेको चलचित्र हलमा पपकनसँग कोक पिउँदै चलचित्र हेर्ने संस्कृति त्यति कमजोर नरहेकोमा उनी विश्वस्त छन् । उनको विश्वास छ, ‘त्यो जमातको मन यो महामारीले परिवर्तन गर्न सक्दैन ।’
चलचित्र क्षेत्रले आम्दानीको वार्षिक ३० प्रतिशत विभिन्न शीर्षकमा राज्यलाई कर तिर्ने गर्छ । हरेक वर्ष सरकारले गोपीकृष्ण र क्यूएफएक्स जस्ता हलबाट मात्रै १४ देखि १६ करोड बराबरको कर उठाउने गरेको छ । दैनिक सञ्चालन खर्च नै हलहरूको लाखौँ रहेको उनीहरू बताउँछन् । एउटा हलको खर्च मासिक सात लाख देखि ३५/४० लाखसम्म रहेको उनीहरूको भनाइ छ । त्यस्तै, मल्टिप्लेक्स हल सञ्चालन खर्च सिङ्गल हलको खर्च भन्दा झन्डै दोब्बर हुन्छ ।
हलका सञ्चालकले बैङ्कबाट लिएको ऋणको किस्ताका बारेमा सरकारले सार्वजनिक गरेको राहत प्याकेजमा कुनै पनि सम्बोधन नगरेकोमा गोपीकृष्ण मुभीका प्रबन्ध निर्देशक निरक पौडेल गुनासो पोख्छन् । सरकारले कम्तीमा चलचित्र क्षेत्रको लगानीलाई राहतका लागि बैङ्कको ऋण ब्याजमा केही छुट दिएको भए राहत अनुभूति गर्न सकिने भन्दै उनी सरकारलाई सुझाव दिन्छन् ।
‘हलहरू बन्द भए पनि विद्युतको डिमान्ड चार्ज, कर्मचारीको तलबमा हल सञ्चालकले रकम खर्च गर्नै पर्ने उनले बताए । गोपीकृष्ण मुभिजमा १५० जना जति कर्मचारी कार्यरत रहेको उनले बताए । चलचित्र विकास बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ मार्फत चलचित्र उद्योगको भविष्यका लागि सरकारले केही वर्षसम्म सरकारले लिन विभिन्न शुल्कहरू कम गराइदिनका लागि माग गरेको क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा बताउँछन् ।
यस्तो महामारीमा समेत आफ्नो लगानी जोगिने र भविष्यमा उद्योगलाई पुनर्जागरण गराउन सकिन्छ भन्ने विश्वास बोकेका सिनेमा घरका सञ्चालकहरूलाई राज्यले थोरै मात्र साथ दियो भने पनि यो क्षेत्र धराशायी नहुने अवस्था देखिन्छ । राज्यले हल मालिकका पनि केही कुरा सुन्ने कि ?
प्रतिक्रिया दिनुहोस