एजेन्सी । भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।
सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३०० भन्दा बढी मानिस अस्पतालमा भर्ना भएको बताइएको छ ।
प्रहरीले आसपासका इलाकाबाट सैयौँ मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएको छ ।
दुर्घटनाबाट प्रभावित धेरैले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन् ।
स्थानीय समय अनुसार बिहान ३ बजे एक पोलिमर फ्याक्ट्रीमा दुर्घटना भएको थियो ।
बीबीसी हिन्दीका अनुसार ८० जनाभन्दा बढीलाई भेन्टीलेटरमा राखिएको छ ।
स्टाइरिन ग्यास चुहावट
आन्ध्र प्रदेश प्रदूषण नियन्त्रण बोर्डका वरिष्ठ अधिकारी राजेन्द्र रेड्डीले बीबीसी तेलुगुका सतिश बल्लालाई बताएअनुसार चुहिएको ग्यास स्टाइरिन हो। यो ग्यास सामान्यत: रेफ्रिजरेटरमा राख्ने गरिन्छ।
कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक यो उद्योग खोलिएका बेला दुर्घटना भएको जनाइएको छ ।
अधिकारीहरूले दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको बताएका छन् ।
ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिँदै घर बाहिर भागदौड गरेका थिए ।
ग्यासको मुश्लो तीन किलोमिटर वरिपरिसम्म फैलिएको छ भने अधिकारीहरूले प्रभावित क्षेत्रबाट मानिसहरूलाई उद्धार गरेर अन्यत्र लान थालेका छन् ।
एकजना वरिष्ठ जिल्ला अधिकारीले बीबीसीलाई बताए अनुसार ग्यास चुहावट रोक्ने प्रयत्न सफल हुन सकेको छैन। तर स्थानीय समाचार एजेन्सीहरूले अहिले परिस्थिति नियन्त्रणमा रहेको जनाएका छन् ।
अधिकारीहरूले मानिसहरूलाई भिजेको कपडाले आफ्नो अनुहार छोपेर आफूलाई सुरक्षित पार्न भनेका छन् ।
भारतमा पटक पटक यस किसिमका ग्यास चुहावटका दुर्घटना हुने गरेको इतिहास छ ।
सन् १९८४ मा भोपालमा भएको रासायनिक पदार्थ चुहावटका कारण हजारौँ मानिसको ज्यान गएको थियो। त्यसलाई संसारकै ठूलो औद्योगिक दुर्घटना भन्ने गरिएको छ ।
दुर्घटना भएको ३५ वर्षपछि पनि त्यहाँ अझै सोही दुर्घटनाको असरका कारण अपाङ्गता भएका बच्चाहरू जन्मिने गरेको पीडितहरूले बताउने गरेका छन् ।
स्टाइरिन भनेको के हो र त्यसले मान्छेलाई कस्तो असर गर्छ ?
(सेन्टर फर रेडिएशन, केमिकल एन्ड इन्भार्नमेन्टल हजार्ड्स र यूएस इन्भार्नमेन्ट प्रोटेक्सन एजेन्सीमा उपलब्ध सामग्रीबाट सङ्कलित सूचना)
प्रतिक्रिया दिनुहोस