काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहाबार मात्रै अमेरिकामा २९ हजार ५३१ जना कोरोना संक्रमित भेटिएका छन् ।
योसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १२ लाख ९२ हजार ६२३ पुगेको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ हजार ९ सय २८ पुगेको छ । जसमा २ हजार १ सय २९ जनाको भने पछिल्लो २४ घण्टामा मात्रै भएको छ ।
बिहीबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १२ लाख ६३ हजार थियो भने मृत्यु हुनेको संख्या ७४ हजार ७ सय ९९ पुगेको थियो ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेको छ । केही दिन मृत्यु संख्या स्वाट्टै घट्ने र फेरि केही दिनमै ह्वात्तै बढ्ने भइरहेको छ । सोमबार र आइतबार भने यो संख्या घटेर निकै तल आएको थियो । मंगलबारदेखि फेरी ह्वात्तै बढेको छ ।
अमेरिकामा आइतबार कोरोनाका कारण १ हजार १५३ को मृत्यु भएको थियो भने सोमबार १ हजार ३२४ जनाको मृत्यु भएको थियो । तर फेरि मंगलबार, बुधबार र बिहीबार दैनिक मृत्युसंख्या दोब्बरले बढेको देखिएको छ ।
कुल संक्रमितमध्ये २ लाख १७ हजार २५० जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ९८ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १५।६ हजार ९९५ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भएको छ । अहिलेसम्म न्यूयोर्कमा ३ लाख ३७ हजार ४२१ जना संक्रमित भएका छन् भने २६ हजार ३ सय ६५ जनाको मृत्यु भइसकेको छ ।बिहीबार मात्र त्यहाँ ३ हजार ९ सय ३० जना नयाँ संक्रमित भेटिएका छन् भने ४ सय ९ जनाको मृत्यु भएको छ ।
अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा पनि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ८३४ पुगेको छ । त्यहाँ एकैदिनमा बिहीबार मात्र २६२ को मृत्यु भएको छ भने २ हजार ४७ नयाँ संक्रमित थपिएका छन् । यो सँगै न्यूजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख ३५ हजार पुगेको छ ।
प्रतिक्रिया दिनुहोस