
काठमाडौं । पूर्व श्रम रोजगार मन्त्री गोकर्ण विष्टले विदेशमा रहेका नेपालीको समस्याप्रति सरकार संवेदनशील बन्नुपर्ने धारणा राखेका छन्। शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत उनले वैदेशिक रोजगारीमा गएका कतिपय नेपाली श्रमिकहरू कोरोना भाइरसका कारण जोखिममा रहेको उल्लेख गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतासमेत रहेका विष्टले लेखेका छन्, ंखास गरी करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, अलेखबद्ध, आममाफीमा भाग लिएका, भिजिट भिषाको म्याद सकिएका, विभिन्न कारणले रोजगारी गुमाएका र अन्य विभिन्न कारणले समेत श्रमिकहरु समस्यामा छन्।’
उनले कतिपय देशमा करार सम्झौताको एकपक्षीय रूपमा रद्द गरी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने र जबरजस्ती देश छाड्न आदेश गर्ने जस्ता अमानविय घटनासमेत देखा परेको उल्लेख गरेका छन्। विभिन्न देशमा खाने/बस्ने समस्याको कारण नेपालीहरूको जीवन अत्यन्त जोखिममा भएको बताउँदै विष्टले अलपत्र परेका नेपालीको उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। उनले भनेका छन्, ‘परदेशमा रगत(पसिना बगाएर मातृभूमिको सेवा गर्ने विभिन्न देशमा रहेका नेपालीहरू अलपत्र परेका छन्। उनीहरूले उद्धार र राहतको लागि सरकारको सहारा खोजिरहेका छन्।’
विष्टले विदेशमा अलपत्र परेकालाई उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याउँदासम्म खाने/बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चाल्नुपर्ने धारणा राखेका छन्।
प्रतिक्रिया दिनुहोस