
म्याग्दी । म्याग्दीमा डेंगु संक्रमितको संख्या ९ पुगेको छ । शुक्रबार थप २ जनामा डेंगु सक्रमण फेला परेसँगै वैशाख महिनामै म्याग्दीमा डेंगु संक्रमितको संख्या ९ पुगेको हो ।
बेनी नगरपालिका ५ भीरमुनि र बेनी नगरपालिका ६ छापाका दुई युवामा डेंगु देखिएको हो । गतहप्ता समेत भीरमुनि र छापामा दुई जनामा डेंगु देखिएको थियो। योसँगै बेनी नगरपालिकामा ६, मंगलामा २ र मालिका गाउँपालिकामा १ जनामा डेंगुका बिरामी भेटिएका छन्।
शुक्रबार भेटिएका दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। नगरले डेंगु प्रकोप विरुद्ध सचेतनामूलक कार्यक्रमसँगै डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई तीव्र पारेको छ।
प्रतिक्रिया दिनुहोस