aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

तीन अध्यादेश पेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
तीन अध्यादेश पेश
फाइल तस्विर

काठमाडाैं । राष्ट्रियसभामा बैठक प्रारम्भ भएकै दिन आज तीन अध्यादेश पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र  २०७७”, “राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७” पेस गरेकाे हाे ।

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा  “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७”  पेश गरेकी छिन ।
 
वैठकले पहिलो संविधानसभा सदस्य प्रा डा विश्वनाथप्रसाद अग्रवाल र शिवनारायण उराँवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली जनता दलका तर्फबाट संविधानसभा सदस्य र अग्रवालको ७५ वर्षका  उमेरमा गत फागुनमा निधन भएको थियो ।  नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेका उराँवको ६१ वर्षका उमेरमा यही वैशाखमा निधन भएको हो ।

बैठकले उहाँहरु दुवैको निधनप्रति शोक प्रकट गर्दै  शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २८ गते अपराह्न १ बजे बस्ने  छ ।

स्वास्थ्य सुरक्षाका अधिकतम उपाय अपनाउँदै बजेट अधिवेशन शुरु

बजेट अधिवेशनका शुरुमा सबै सदस्यलाई स्वागत गर्दै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराएका थिए ।
 
त्यसपछि बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीबाट ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ र ‘पारमाणविक विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिएको थियो ।

सभामुख र उपसभामुखको अनुपस्थितिमा सदन सञ्चालन गर्न सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम  (१) अनुसार सांसद डिला शर्मा, मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली, रेखा शर्मा, रेणु यादव र सोमप्रसाद पाण्डेयलाई बैठकको अध्यक्षता गर्ने सदस्यमा मनोनयन गरिएको छ  ।
 
बैठकमा प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)’सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ तथा आफ्नातर्फबाट ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७’ पेश गर्नुभयो । त्यसैगरी  कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शिवमाया तुम्वाहाङ्फेले  वर्तमान परिस्थितिमा केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन वाञ्छनीय भएको बताउँदै  ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७’ प्रस्तुत गरेका थिए । 

त्यसअघि गणतन्त्र र लोकतन्त्र प्राप्तिका निम्ति आफ्नो जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सभाले उहाँहरूप्रति एक मिनेट शिर झुकाएर मौन रही सम्मान प्रकट गरेको थियो ।  बैठकमा उपस्थित सभामुखसहित सांसदले बोल्ने बेलामा मात्र मास्क आफ्नो अनुहारबाट हटाएको थियो । सांसदले आफ्नो अभिव्यक्ति प्रकट गरेपछि हरेकपटक वक्ता उभिनुभएको स्थल र ‘पोडिएम–माइक’ लाई निर्मलीकरण गरिएको थियो । मर्यादापालकले पनि पूर्ण सुरक्षा व्यवस्था अपनाएर बैठक सञ्चालनमा सहयोग गरिरहेको छ ।

विश्वव्यापीरुपमा महामारीको रुप लिएको कोभिड –१९ बाट जोगिन नेपाली समाजका सबै तह र तप्का सचेत भई जनस्वास्थ्यसम्बन्धी सुरक्षाका सम्पूर्ण उपाय अपनाउन संसद्को बर्खे अधिवेशनले सबैमा सन्देश प्रवाह गरेको छ । 

बर्खे अधिवेशन प्रारम्भः राष्ट्रियसभामा दलका नेताद्वारा सम्बोधन
नयाँ बानेश्वस्थित सङ्घीय संसद् भवनमा सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि प्रारम्भ भएको छ ।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अपराहन  ४ः१० बजे   सांसदलाई स्वागत गर्दै बजेट अधिवेशन आह्वानसम्वन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै लोकतन्त्रका लागि विभिन्न समयमा भएका आन्दोलनमा बलिदानी दिने शहीदप्रति मौन धारण गरियो । 

बैठकमा राष्ट्रिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई शुभकामना मन्तव्यका लागि समय प्रदान गरिएको थियो । सो क्रममा  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राट्रिष्यसभाका नेताका दीनानाथ शर्माले सरकारले कोरोना भाइरसविरुद्ध  लड्न बेलैमा कदम चालेको हुनाले सम्भावित जोखिनबाट बचाउन सफल भएको बताए ।

उनले कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न  कृषि उत्पादनलाई पहिलो प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।  “आज पनि हामी बन्दाबन्दीमा छौँ, वर्षे तथा बजेट अधिवेशनमा आगामी नीति तथा कार्यक्रममा लामो छलफल गर्नुहुँदैन”, सांसद शर्माले भन्नुभयो, “संसद्मा छोटो छोटो रुपमा कुरा टुङ्ग्याउनुपर्छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र विकासका अवस्थाका रहेको हुनाले लोकतन्त्र बलियो भए मात्र पार्टी बलियो हुन्छ भन्दै उहाँले देशका जिम्मेवार राजनीतिक दलबाट तरङ्ग पैदा गर्ने र पार्टी फुटाउनेजस्ता कार्य गर्न नहुने उल्लेख गरे ।

कोरोना भाइरसका कारण नेपालको सीमावर्ती क्षेत्रमा नेपाली नागरिक अलपत्र परेका उल्लेख गर्दै सांसद शर्माले भने, “भारतमा पनि नेपालीको अवस्था बिजोग छ भन्ने आएको छ, सरकारले भारत र विदेशमा रहेका नेपालीको उद्धारमा ध्यान दिनेछ भन्ने शुभकामना दिन चाहन्छु ।” उनले कोरोना भाइरसबाट निधन भएका नेपालीलगायत सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारमा समवेदनामा प्रकट गरे ।  

नेपाली काँग्रेसका राष्ट्रियसभाका नेता राधेश्याम अधिकारीले कोरोना भाइरस जोखिम नियन्त्रण र रोकथामका लागि आवश्यक औषधिको व्यवस्था र परीक्षणको दायरालाई फराकिलो तुल्याउन सुझाव दिए । “कोभिड –१९ बाट उत्पन्न परिस्थितिका कारण अध्ययनका लागि विदेशमा रहेका, रोजगारीका लागि  विदेशमा गएका कैयौँ नागरिक स्वदेश फर्कन चाहनेलाई फिर्ता ल्याउन तत्काल योजना बनाउनु आवश्यक छ”, 

उनले भने, “लकडाउनका कारण कयौँ श्रमिकको रोजजार गुमेर रोजीरोटीको समस्या भएकाले उनीहरुलाई राहत  दिने र माग सम्बोधन गर्न कृषिको उत्पादन र पूर्वाधारलगायतका क्षेत्रको विकास र विस्तारको योजना बनाउनुपर्छ, कोरोना नियन्त्रणका लागि प्रभावकारी कार्ययोजना बनाएर काम गर्नुपर्छ ।”

राजनीतिक दल र सवैधानिक परिषद्सम्वन्धी अध्यादेश जारी गर्ने कदमले सरकारले लोकप्रियता ह्वातै घटाएको बताउँदै उहाँले यस्ता विषय लोकतन्त्र र संविधान विपरीत भएको टिप्पणी गरे । 

सांसद प्रमिला कुमारीले भारतसँग सिमाना जोडिएका जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएकाले आवश्यक  रोकथाम र  सतर्कता उचित अपनाउन सरकारको ध्यानाकर्षण गराइन् । 

महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले  पर्याप्त कदम चाल्न नसकेको आरोप लगाउँदै उनले आवश्यक परे नयाँ कानून ल्याएर भए पनि नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आवश्यक रहेको धारणा व्यक्त गरिन । उनले विपद्का अवस्थामा कोरोना संक्रमितको उपचार तथा न्यून आय भएका श्रमिकको रोजी रोटीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

मुलुकमा महामारी रहेका अवस्थामा सरकारले संवैधानिक र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश ल्याएर गल्ती गरेको बताउँदै उनले  त्यसलाई फिर्ता गरेको प्रति धन्यवाद व्यक्त गरिन् ।  
 

प्रतिक्रिया दिनुहोस