aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

दक्षिण कोरियाका क्लव र बार पुनः बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ बैशाख २०७७
दक्षिण कोरियाका क्लव र बार पुनः बन्द

सोल । दक्षिण कोरियाको सरकारले आगामी एक महिनासम्मका लागि क्लव र बारहरु बन्द गर्ने घोषणा शुक्रबार गरेको हो । कोरोनाभाइरसको सङ्क्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा पुनः सङ्क्रमितहरु देखिन थालेपछि सतर्कता बढाउन थालिएको जनाइएको छ । 

स्थानीय समय अनुसार आज बेलुका ८ बजेदेखि एक महिनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफै बन्द गर्न आग्रह गरिएको योन्हप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उद्धृत गरी जानकारी गराएको छ ।

सरकारले अन्य क्षेत्रमा पनि थप कडाई गर्न र आवतजावत गर्नेहरुको लगत राख्ने योजना पनि बनाएको बताएको छ । दक्षिण कोरियामा कोरोनाभाइरसको सङ्क्रमण पहिले नियन्त्रणमा राख्न सकिएको समाचारहरू आएका थिए तर फेरि नयाँ सङ्क्रमितहरु देखिन थालेकोले रात्रिक्लब तथा बारहरूलाई बन्द गर्ने घोषणा सरकारले गरेको हो । 

स्वास्थ्य अधिकारीहरुका अनुसार हालै २९ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ती व्यक्ति विभिन्न क्लवहरुमा गएर फर्केपछि सङ्क्रमण भएको पाइएको छ ।

कोरियाको रोग नियन्त्रण तथा न्यूनिकरण केन्द्रले शुक्रबार १४ जना नयाँ सङ्क्रमित भेटिएको जानकारी दिएको छ । सङ्क्रमित भएकामध्ये तीन जना विदेशी नागरिक र एक जना सैनिक रहेको केन्द्रले जनाएको छ । विरामी सवै १९ देखि ३७ वर्षसम्मका रहेको अधिकारीहरुको भनाइ छ । 

मास्क लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरुप्रति बेवास्ता गर्दै रात्रि जीवनमा रमाएका बेला उनीहरु सङ्क्रमित भएको बताइएको छ । 
दक्षिण कोरियामा पछिल्लो केही समय कोराना भाइरसबाट सङ्क्रमित नयाँ विरामीहरु देखिएका थिएनन् ।

तर फेरी नयाँ सङ्क्रमितहरु देखिन थालेपछि सामाजिक दूरी कायम गर्न, क्वारेन्टाइनलाई ख्याल गर्न र आधारभूत स्वास्थ्य सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ । एएनआई

प्रतिक्रिया दिनुहोस