
उदयपुर । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो । उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ ।
यो सँगै उदयपुरमा एकैदिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ । आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ ।
थपिएसँगै सनिबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सनिबार बिहानै उदयपुर, कपिलवस्तु र पर्साका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइसकेकाे छ ।
राष्टिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल विराटनगरमा पिसिआर परीक्षण गर्दा उदयपुर भुल्केकाका १८, ४५ र ६५ वर्षिया महिला, कपिलवस्तुका १८, १७ र १८ वर्षिया पुरुष र पर्सा छपकैयाका ६२ वर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियाे ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस