aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

सीमा विवादबारे एक्सन लिनुपर्‍योः प्रचण्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
सीमा विवादबारे एक्सन लिनुपर्‍योः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले एक्सन लिनुपर्ने बताएका छन् । उनले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका हुन् । 

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले सरकारले दिने वक्तव्य अर्थात् चिठी नीतिगत, सैद्धान्तिक र भावनात्मक रुपमा ठिक भएको तर एक्सनमा पनि ठिक तरिकाले जानुपर्नेमा सहमति जनाए । समितिका अन्य सदस्यहरुले सरकारले ठिक लेटरमात्र पठाउने तर एक्सन गर्न नसक्ने स्थिति रहेको बताएपछि अध्यक्ष प्रचण्डले त्यस कुरामा आफू सहमत भएको बताएका हुन् । 

उनले भने, ‘सरकारको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयको तर्फबाट दिने भनिएको वक्तव्य पनि मैले हेरेँ र त्यो लेटर नीतिगत रुपमा, सैद्धान्तिक रुपमा र भावनात्मक रुपमा पनि ठिक नै छ । त्यो लेटरमा दिइएको ओरियन्टेसन बेठिक छैन भन्ने मलाई लाग्छ । यहाँ माननीय सदस्यहरुले पनि जसले त्यो लेटर पढ्नुभएको छ, उनीहरुले पनि लेटर ठिकै छ भनेर पनि आयो लेटर ठिकै छ तर लेटरमात्रै ठिक भएर भएन । एक्सन पनि ठिक हुन पर्‍यो भन्ने माननीय सदस्यहरुको भावना पनि बिलकुल सही नै छ ।’

लिपुलेक तथा जहाँ–जहाँको सीमामा विवाद छ, त्यो विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको अध्यक्ष प्रचण्डले बताउनुभयो । भारत र चीनले लिपुलेकको विषयमा गरेको सम्झौतापछि यो समस्या भारतसँगको मात्रै नभइ त्रिदेशीय समस्या भएको बताए । उनले भने, ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीयजस्तो बन्न गएको छ । यो दुई वटा देशले मात्रै हल गरेर पनि अब अप्ठ्यारो छ ।’

अध्यक्ष प्रचण्डले यो विषयलाई अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एक पटक सोच्नुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस