
एजेन्सी । दुई वर्षसम्म चलेको तानातान पछि अमेरिका र चीनबिच यही वर्षको जनवरी महिनामा एक व्यापारिक सम्झौता भयो । त्यो सम्झौतापछि जारी संयुक्त विज्ञप्तिमा भनिएको थियो- यो सम्झौता चीन र अमेरिकाको लागि होइन, विश्वको लागि लाभदायक छ ।
चीन र अमेरिका बिच पहिलो चरणमा भएको यो सम्झौता विश्व शान्ति र प्रगतिसँग समेत जोडिएकोले केवल चीन र अमेरिका बिचको व्यापारिक सम्झौता मात्र नभएको बताइएको थियो ।
तर कोरोना भाइरसको कारण चीन र अमेरिका बिच सम्बन्ध बिग्रिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि निकै आपत्तिजनक आरोपहरू लगाइरहेका छन् । उनले कोरोना भाइरस चीनले निर्माण गरेर संसारभर फैलाएकोले त्यसको मूल्य चुकाउनुपर्ने समेत भनिसकेका छन् ।
अब अति भएपछि चीनले समेत जवाफ फर्काउन थालेको छ । आधिकारिक रूपमा नै चीनले दुई पटक यदि आफूले कोरोना उत्पादन गरेको प्रमाण भए देखाउन नत्र मुख सम्हाल्न चेतावनी दिइसकेको छ ।
तर, अमेरिकामा जति जति कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दैछ त्यति नै ट्रम्पको पारो तात्दै छ । ट्रम्पको व्यवहार र शैलीमा नै परिवर्तन आइरहेको छ । उनी अमेरिकाले अब चीनलाई गतिलो पाठ सिकाउने बेला आएको भन्न थालेका छन् । त्यसैले अहिले उनी चार महिना अघिको व्यापार सम्झौताबाट पछि हट्ने सङ्केत दिन थालेका छन् ।
उनले शुक्रवार फोर्ब्स न्युजलाई दिएको एक अन्तर्वार्तामा आफू चीनसँग निकै नै बेखुसी रहेको बताएका छन् । व्यापार सम्झौताबारे कुरा गर्दै उनले अहिले नै यसै हुन्छ भन्न नसकिने जनाएर त्यो तोडिने सङ्केत गरेका हुन् ।
उनले यस्तो अन्तर्वार्ता दिनुभन्दा केही घण्टा अघि मात्र त्यहाँका व्यापार प्रतिनिधिहरूले आफ्ना चिनियाँ समकक्षीसँग कुरा गरेका थिए । त्यसपछि जारी सन्देशमा चिनियाँ पक्षले भनेको छ - व्यापार सम्झौतामा उल्लेख भए अनुसार नै अमेरिकी उत्पादन खरिद गर्ने कुरामा चीन विश्वस्त छ ।
यो सम्झौता कायम रहन्छ कि रहँदैन भन्ने त ट्रम्पको पारो सेलाउँछ वा अझै तात्छ भन्नेमा भर पर्छ तर चीन भने सम्झौतामा उल्लेख भए अनुसार यो वर्ष ७६.७ बिलियन डलर र अर्को वर्ष १२३.३ बिलियन डलरका अमेरिकी उत्पादन खरिद गर्न तयार छ ।
यदि चीनलाई तह लगाउन भन्दै ट्रम्पले व्यापार सम्झौता तोडे भने त्यो कोरोना महासङ्कटले थला परेको विश्व अर्थतन्त्रको लागि ठुलो बज्रपात ठहर्ने पक्का छ । त्यसले कतै यी दुई महाशक्ति बिच कतै सैन्य युद्ध नै त सुरु गर्ने होइन भन्ने समेत त्रास फैलन थालेको छ ।
प्रतिक्रिया दिनुहोस