aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

पाकिस्तानमा लकडाउनको अवधि फेरि थपियो, मे ३१ सम्म लागू हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
पाकिस्तानमा लकडाउनको अवधि फेरि थपियो, मे ३१ सम्म लागू हुने

इस्लामावाद । एएनआई पाकिस्तानमा लागू हुँदै आएको लकडाउनको अवधि फेरि तीन हप्ताका लागि थप गरिएको छ । सरकारले यही मे ३१ तारिखसम्मका लागि लकडाउनको अवधि थप गरिएको घोषणा गरेको छ । तर व्यापार व्यवसायलाई सजिलो हुनेगरी केही खुकुलो व्यवस्था पनि गरिएको छ । 

सर्वसाधारणको धेरै भिडभाड नहुने ठाउँका लागि लकडाउनलाई खुकुलो बनाइएको सरकारले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । सूचनाका अनुसार अत्यावश्यक सेवाका पसलहरु हप्तामा पाँच दिन विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म खेल्न दिइने भएको छ । 

पाकिस्तानमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गइरहेकाले लकडाउनलाई निरन्तरता दिनु परेको सरकारी अधिकारीहरुको भनाई छ । उनीहरुका अनुसार देशभरी गरेर अहिलेसम्म २९ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९९१ जना नयाँ विरामी थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको जानकारी दिएको छ । पाकिस्तानमा अहिलेसम्म कुल मृतकको संख्या ६३९ पुगेको छ । कोरोनाभाइरसका कारण विरामी भएकामध्ये आठ हजार २३ जनालाई भने निको भइसकेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस