aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

स्विजरल्याण्डको पनि बस्यो बातो, निःशुल्क खाना खान हजारौँको लाइन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
स्विजरल्याण्डको पनि बस्यो बातो, निःशुल्क खाना खान हजारौँको लाइन

एजेन्सी । कोरोना भाइरस महामारीका कारण विश्वका धेरै देशको हालत खराब भएको छ । विश्वको सर्वाधिक धनी मुलुकहरू मध्येको एक स्विजरल्याण्डमा नागरिकलाई समेत यो महामारीले निःशुल्क बाँडिएको खानाको भरमा बाँच्नु पर्ने अवस्थामा पुर्‍याएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार जेनेभामा शनिवार हजारौँको सङ्ख्यामा राहतको (निःशुल्क वितरण गरिएको) खाना खान लाइनमा बसेका थिए । 

स्विजरल्याण्डमा आइतबार साँझसम्म ३० हजार ३०५ जना भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । अहिलेसम्म त्यहाँ १८०५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको जम्मा जनसङ्ख्या लगभग ८६ लाख छ ।

त्यहाँ कोरोनाको असर यस्तो देखियो कि मानिसहरू एक किलोमिटर भन्दा लामो लाइनमा बसेर खानाको प्याकेट लिन बाध्य भएका छन् । 
त्यसरी लाइनमा बस्ने इन्ग्रिड वरला नामक एक व्यक्तिले आफ्नो अवस्थाबारे बताउँदै भने, ‘महिनाको अन्त्यमा आइपुग्दा मेरो पकेट खाली हुन्छ । मैले बिल, इन्स्योरेन्स र अन्य वस्तुको पैसा तिर्नुपर्ने हुन्छ । यो राम्रो भयो कि हामीलाई एक हप्ताको लागी खाना प्राप्त भयो ।’ उनी अर्को हप्ताबारे भने चिन्तित नै देखिन्थे ।

सन् २०१८ को एक रिपोर्टका अनुसार त्यहाँका ८६ लाख मानिस मध्ये ६.६ लाख मानिस गरिब छन् । खास गरी कम पढेका मानिसहरूको लागि त्यहाँ काम पाउन मुस्किल छ ।  

स्विस बैङ्क युबीएसको एक आकलन अनुसार तीन जनाको परिवार बस्ने हिसाबले हेर्दा जेनेभा विश्वको दोस्रो महँगो सहर हो । यो सहरमा बस्ने मानिसको औसत आय राम्रो छ तर जो समस्यामा छन् उनीहरूलाई यो स्थितिमा कसैले सहयोग गर्दैन ।

प्रतिक्रिया दिनुहोस