
सोल । कोरोना भाइरस नियन्त्रणमा आएको भन्दै लकडाउन खुकुलो पारेको दक्षिण कोरियामा आइतबार एकै दिन ३४ जना संक्रमित फेला परेका छन् । अधिकारीका अनुसार एकै दिन संक्रमण भेटिएको यो अप्रिल ९ यताकै उच्च संख्या हो ।
कोरिया सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (केसीडीसी) ले नयाँमध्ये २६ जनालाई स्थानीयस्तरमै संक्रमण भएको जनाएको छ । ८ जना विदेशबाट आएकाहरू हुन् ।
केसीडीसीका अनुसार एक जना संक्रमित राजधानी सोलस्थित नाइट क्लबहरूमा पुगेपछि अन्य मानिसलाई भाइरस सरेको थियो । एक २९ वर्षीय युवक मे २ मा तीनवटा नाइट क्लबमा पुगेका थिए । केही दिनपछि उनमा संक्रमण रहेको पुष्टि भएको थियो ।
यसअघि, दक्षिण कोरियाले कोभिड–१९ को संक्रमण नियन्त्रणमा आएको भन्दै जारी लकडाउन खुकुलो पारेको थियो । त्यसैगरी, विद्यालय, चर्च, रेस्टुराँ तथा नाइट क्लबहरू खुला गरेको थियो । करिब एक महिनायता कोरियामा दैनिक एक जनाको हाराहारीमा मात्र संक्रमित भेटिएका थिए ।
अधिकारीहरूका अनुसार आइतबारसम्म नाइट क्लबसँग सम्बन्धित ५४ जनामा संक्रमण देखिइसकेको छ । यसमध्ये ४३ जना क्लबमै पुगेका जनाइएको छ । अन्य ११ जना उनीहरूको सम्पर्कमा आएका कारण संक्रमित भएका थिए ।
केसीडीसीले लकडाउनपछि खुला गरिएको क्लब पुगेका १ हजार ९ सय ४६ जनाको ट्रेसिङ भइरहेको छ । उनीहरूलाई १४ दिनको क्वारेन्टाइनमा राख्न सुरु गरिएको छ । त्यसका साथै अधिकारीहरूले पछिल्लो पटक नाइट क्लबमा पुगेकाहरूलाई अनिवार्य सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेका छन् ।
कोरियामा कोभिड–१९ को संक्रमणका कारण २ सय ५६ जनाले मात्र ज्यान गुमाएका छन् । अधिकारीहरूका अनुसार संक्रमितको संख्या १० हजार ८ सय ७४ पुगेको छ । तीमध्ये ९ हजार ६ सय १० जना निको भइसकेका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस