aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यूएईले राख्यो अप्ठ्यारो प्रस्ताव, के गर्छ अब नेपाल सरकार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
यूएईले राख्यो अप्ठ्यारो प्रस्ताव, के गर्छ अब नेपाल सरकार ?

काठमाडौं । नेपाल सरकारले बिदेशमा रहेका आफ्ना नागरिक अहिले नै नेपाल आउन नदिने योजनामा रहेकै बेला यूएईले भने अप्ठ्यारो प्रस्ताब पठाएको छ । अब नेपालले आफ्ना नागरिकलाई उद्धार गर्न ढिलाइ गरेका कारण  यूएई आफैंले उनीहरुलाई नेपाल ल्याएर छाड्ने भएको हो।

यस्तो जानकारी संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका हुन् । उनले भने, ‘दुई वटा विमान आउने जानकारीसहित पत्र आएको छ ।' तर नेपाल भने अझै पनि उनीहरुलाई आउन दिने पक्षमा छैन । सो स्पष्ट पार्दै उनले भने, 'तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था छैन ।’

नेपाले यसरी आउन दिन थाल्ने हो भने  श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना तुरुन्तै फर्काउनुपर्ने अवस्था रहेको उनले बताएका थिए  । यस्तो अवस्थामा आफुले पनि ल्याउन नसक्ने र यदी त्यो मुलुकले नै ल्याइदिने हुँदा समेत स्वीकृति दिन नसक्ने अवस्थामा नेपाल सरकार रहेको देखिएको छ । विश्वका धेरै देशले आफैं जहाज चार्टर गरेर आफ्ना नागरिक धमाधम स्वदेश लाँदै गर्दा समेत नेपाल भने निरिह बनेको छ ।

जसको श्रमको भरमा यो देश टिकेको छ उनीहरुलाई नै फर्कन नदिने आनौठो नीति सरकारले लिँदा धेरै श्रमिकहरु आक्रोशित बनेका छन् । आफ्नो कमाई चाहिने तर ज्यान नचाइने भन्दै बिदेशमा रहेका नेपालीहरु सरकारको कडा निन्दा गरिरहेका छन् । 

त्यसो त विदेशस्थित दूतावास, गैरआवासीय नेपाली संघलगायतबाट संकलित तथ्यांकअनुसार भारत बाहेकका मुलुकबाट ३ लाख २५ हजार ५३० नेपाली स्वदेश फर्किन चाहेका छन् । भारतबाट पनि करिब साढे २ लाख नेपाली स्वदेश फर्किन चाहेका छन् । ति सबैलाई आउन नदिने संकेत गर्दै ज्ञवालीले भने, ‘साँच्चै संकटमा परेकालाई नेपाल ल्याएर व्यवस्थापन गर्ने सम्बन्धमा तयारी अघि बढेको छ ।'

 

प्रतिक्रिया दिनुहोस