aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

खाद्य सुरक्षा, रोजगारमुखी र आत्मनिर्भर अर्थतन्त्रमा जोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
खाद्य सुरक्षा, रोजगारमुखी र आत्मनिर्भर अर्थतन्त्रमा जोड

काठमाडौं । सरकारले रोजगारमुखी र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनु पर्ने सांसदहरुले बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा आब २०७७÷७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताब बाहेक) सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसदहरुले कोभिड–१९ ले पारेको नकारात्मक असरलाई ध्यानमा राखेर आर्थिक विकासका योजना अघि सार्नुपर्नेमा जोड दिए । 

अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको विधेयक आफैँमा महत्वपूर्ण रहेको भन्दै सांसदहरुले अझै परिस्कृत र परिमार्जन सहित आर्थिक सुधारको क्षेत्रमा केन्द्रित गरेर बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन । उनहरुले मुलुकको आर्थिक समृद्धिको लक्ष्यलाई रोक्न नहुनेमा जोड दिँदै वर्तमान अवस्थाको मुल्याङ्कन गरेर आगामी रणनीति बनाउन सरकारलाई सुझाव दिए । 

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकमा कोरोनाको प्रभावका बीच चाँदीको घेरा देख्न छाड्न नहुने बताउँदै मुलुकले तिब्र आर्थिक विकासको लक्ष्य छाड्न नहुनेमा जोड दिए । वर्तमान अवस्थामा निजी क्षेत्रलाई सँगै लिएर हिँड्नपर्ने बताउँदै उहाँले निजी क्षेत्रले पनि इमान्दारिता देखाउनुपर्ने धारणा व्यक्त गरे । अर्थतत्त्र संकटमा परिरहेका बेला सामाजिक सुरक्षाका निम्ति लोकप्रिय कार्यक्रमभन्दा मुलुकले थेग्न सक्ने कार्यक्रम जरुरी रहेको सांसद बाँस्कोटाको भनाइ थियो । “लोकप्रियताका नाममा भकारी भत्काउने गरी लैजानु हुँदैन, अर्थतन्त्रलाई चलायमान, गतिशिल र उत्पादनमूलक क्षेत्रमा लैजानुपर्छ”, बाँस्कोटाले भने ।

सांसद रामकुमारी झाँक्रीले स्वदेश फर्कने नेपालीलाई कसरी रोजगारी दिने, भोकमरी आउन नदिन के गर्ने, साना उद्यमशिलतालाई बचाइराख्न कस्ता नीति ल्याउने भन्ने विषय गम्भीर रहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उपयुक्त नीतिका साथ कृषि क्षेत्रको विकासमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

उनले अनुत्पादक क्षेत्रमा लगानी गरिने छैन भन्ने कुरा विधेयकमा आएको भन्दै त्यसको सराहना व्यक्त गर्नुभयो । सार्वजनिक खर्च कटौतीमा निर्मम हुन समेत झाँक्रीले सुझाव प्रस्तुत गरेका थिए । सांसद उमा रेग्मीले अहिले कोरोनाबाट परेको प्रभावको रोकथाम र त्यसबाट प्रभावित अर्थतन्त्रलाई माथि उकास्नमा पहिलो प्राथमिकता दिनुपर्ने बताए । उद्योग व्यवसायको विकास, कृषि र पशुपालन, पर्यटन विकास, रोजगारीको अवसरलाई विशेष प्राथमिकता दिनुपर्ने बताउँदै सांसद रेग्मीले किसानले उत्पादन गरेको वस्तुको बजारीकरणमा समेत ठूलो समस्या रहेकोतर्फ ध्यानाकर्षण गरे । सांसद जीवनराम श्रेष्ठले खाद्य सुरक्षा र रोजगारी बढाउने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

सांसद पूर्णकुमारी सुवेदीले स्वास्थ्यकर्मीको मनोबल बढाउन थप प्रोत्साहन प्याकेज ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै कोरोना परीक्षणको दायरा अझै बढाउन आग्रह गरे । उनले श्रमिक किसानलाई सहुलियतपूर्ण र अनुदान रकम उपलब्ध गराउन आग्रह गरे । प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताब बाहेक) सम्बन्धमा छलफल जारी छ । रासस

प्रतिक्रिया दिनुहोस