
एजेन्सी । संसार मै कहलिएका समाजशास्त्री तथा बुद्धिजीवी नोम चोम्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै हजारौँ अमेरिकी र विश्वभरका लाखौँ मानिसको मृत्युको लागी दोषी भएको दाबी गरेका छन् । चोम्स्कीले आफ्नो चुनावी लाभ र ठुला व्यापारीको खल्ती भर्ने योजनाका साथ ट्रम्पले अमेरिकी जनताको जीवन दाउमा लगाएको आरोप समेत लगाएका छन् ।
ब्रिटेनको अखबार ‘द गार्जियन’ लाई दिएको एक अन्तर्वार्तामा चोम्स्कीले विशाल स्वास्थ्य सङ्कटको बेला ट्रम्पले आफू रक्षक भएको नाटक गर्दै जनताको पिठ्युँमा छुरा हानेको बताएका हुन् । उनले फेरी अमेरिकाको दोहोर्याएर राष्ट्रपति बन्ने सपना देखेर ट्रम्पले ठुला व्यापारीको हितमा काम गरेको आरोप लगाएका छन् । तिनीहरूको फाइदालाई ध्यानमा राखेर उनले स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको र सङ्क्रमित रोगको नियन्त्रणमा ध्यान नदिएको बताएका हुन् ।
ट्रम्पले आफ्नो कार्यकालमा हरेक वर्ष यस्तै काम गरेको उनले बताएका छन् । उनको भनाइ छ, ‘संस्थाहरूको सरकारी कोषमा कटौती गर्ने, यसरी जनतालाई खतरामा पार्ने र यसबाट धनी र व्यापारीको नाफा बढाउने ट्रम्पको योजना नै हो ।’
चोम्स्कीले अमेरिकी राष्ट्रपतिले त्यहाँको राज्यका गभर्नरलाई आ-आफ्नो राज्यमा आइपर्ने भाइरस सम्बन्धी समस्यासँग लड्न छाडिदिएर आफ्नो कर्तव्यबाट भागेको समेत आरोप लगाएका छन् । आम मानिसलाई मार्ने र आफ्नो चुनावी राजनीति चम्काउने यो बडो गज्जबको रणनीति हो ।
के अमेरिकी जनताको मृत्युको लागि तपाई ट्रम्पलाई नै दोषी देख्नुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले भनेका छन् – हो, तर अमेरिकामा मात्र होइन सारा संसारमा नै ट्रम्पले यही गरिरहेका छन् । अमेरिकी जनताको बिरुद्द आफूले गरेको अपराध लुकाउन अहिले उनी कोही न कोहीलाई बलिको बोको बनाउन लागि परेका छन् । चोम्स्कीले विश्व स्वास्थ्य सङ्गठनको फन्ड रोक्ने ट्रम्पको फैसलाको कारण यमन र अफ्रिका महादेशका लाखौँ मानिसहरू मृत्युको मुखमा पुग्ने भन्दै त्यसकोलागी ट्रम्पलाई दोषी करार गरेका छन् ।
.
प्रतिक्रिया दिनुहोस